
कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेका पोखराका पर्यटकीय स्थलहरू खुलेका छन् ।
पोखराको पर्यटकीय आकर्षण फेवाताल बीचमा रहेको तालबारही मन्दिर र पोखरा १७ छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा, महेन्द्र गुफा विश्व शान्ति स्तूप पर्यटकका लागि खुला गरिएका छन् ।
यी पर्यटकीय गन्तव्य झन्डै २० महिनापछि सञ्चालनमा आएका हन् । तालबराही मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा पूजारी पशुराम शर्मा पहारीले स्थानीय प्रशासनले असोज १ गतेबाट निषेधाज्ञा पूर्ण रूपमा हटाएपछि मन्दिर खुला गरिएको बताए।
मन्दिर बन्द हुँदा डुङ्गा व्यवसायी तथा डुङ्गा चालकसमेत बेरोजगार हुनुपरेको थियो । डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले अब व्यवसायी तथा चालकलाई केही राहत हुने विश्वास व्यक्त गरे।
नेपालीका अनुसार आठवटा घाटमा ७६४ वटा डुङ्गा सञ्चालनमा छन् । मन्दिर सञ्चालनमा आउँदा निकै खुसी लागेको डुङ्गा व्यवसायी तारा विकले बताए ।
अब गरेर खान पाइने थियो उनले भने, नेपालीका चाडपर्व पनि सुरु भएका त्यसैले आन्तरिक पर्यटकको पनि चाप बिस्तारै बढ्नेछ र पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढ्नेछ । फेवातालको तालबराही मन्दिर बन्द हुँदा झन्डै दुई करोड घाटा लागेको डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले बताए ।
पोखराका प्रमुख पर्यटकीय गन्तव्य खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बिस्तारै बढ्न थालेको पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने, पर्यटकीय गतिविधि बिस्तारै चलायमान हुँदै छ । बाह्य पर्यटक नभएपछि आन्तरिक पर्यटकको चहलपहल बढदै छ । गोरखापत्र दैनिकमा खबर छ ।