एउटा कम्पनी टाट पल्टिन लाग्दा विश्वभर चासो

पश्चिमका लागि मसला बन्दै एभरग्रान्डी संकट: ऋण काढेर घ्यू खानेलाई कस्न चीनको आफ्नै दाउ !

विन्देश दहाल
विन्देश दहाल

लोकान्तर डट् कमका कूटनीतिक मामिला सम्पादक विन्देश दहाल अन्तर्राष्ट्रिय राजनीति तथा पूर्वीय अध्यात्मबारे लेख्छन् । 

पश्चिमका लागि मसला बन्दै एभरग्रान्डी संकट: ऋण काढेर घ्यू खानेलाई कस्न चीनको आफ्नै दाउ !
Photo : REUTERS

चीनको घरजग्गा व्यवसाय कम्पनी एभरग्रान्डीले अत्यधिक ऋण काढेर टाट पल्टिने स्थितिमा जान लागेपछि त्यसले विश्व अर्थतन्त्रलाई अर्को मन्दीको युगमा लग्ने भनी पश्चिमी सञ्चारमाध्यमहरूमा चर्चा गरिएको छ । 


Advertisement

पश्चिमी विश्लेषकहरूले यसलाई सन् २००८ को लेहम्यान ब्रदर्श काण्डसँग तुलना गरेका छन् । त्यतिखेर अमेरिकाको घरजग्गा व्यवसायलाई प्रोत्साहन गर्ने गरी लेहम्यान ब्रदर्श नामक बैंक (जुन त्यतिखेर अमेरिकाको पाँचौं विशाल बैंक थियो) ले सुझबुझ नअपनाइकन अत्यधिक मात्रामा ऋण प्रवाह गरेको थियो । 


Advertisement

त्यो ऋण असुली गर्न बैंक असमर्थ भएपछि टाट पल्टेको (ब्यांकरप्ट) घोषणा गर्‍यो अनि त्यसले गर्दा अमेरिकाको र सँगसँगै विश्वको अर्थतन्त्र नै डामाडोल भयो । एभरग्रान्डी पनि दिवालिया हुन लागेकाले विश्लेषकहरूले यसलाई लेहम्यान ब्रदर्शसँग तुलना गरेका हुन् । 

के हो एभरग्रान्डी ?


Advertisement

चीनको कुल गार्हस्थ्य उत्पादनको लगभग ३० प्रतिशत भाग घरजग्गा व्यवसाय तथा त्यससँग जोडिएका उद्योगहरूले ओगटेका छन् । उक्त क्षेत्रमा एभरग्रान्डी सबभन्दा ठूलो खेलाडी थियो । कुनै समयमा यो कम्पनी फोर्चुन ५०० मा सूचीबद्ध थियो अर्थात् कमाइको हिसाबले संसारको सबभन्दा ठूलो कम्पनीमध्ये एक बनेको थियो । यसमा विदेशी कम्पनीहरूले पनि लगानी गरेका छन् । 

शनचन शहरमा रहेको यस कम्पनीले लगभग दुई लाख मानिसलाई रोजगारी दिएको छ । यसले अप्रत्यक्ष रूपमा प्रत्येक वर्ष लगभग ४० लाख रोजगारीको अवसर उपलब्ध गराउने गरेको छ । 

चीनका २८० शहरहरूमा १३ सयभन्दा बढी परियोजनाहरू यसले सञ्चालन गर्ने गरेको छ । घरजग्गा व्यवसाय बाहेक यसले विद्युतीय सवारीसाधन, खेलकुद तथा थिम पार्कहरूमा समेत लगानी गर्ने गरेको छ । अन्य क्षेत्रमा पनि यसको पहुँच छ । 

आफ्नो दक्षताको दायरामा नबसेर नयाँ नयाँ क्षेत्रमा लगानी गर्ने क्रममा हालैका वर्षमा यसले विभिन्न ठाउँबाट व्यापक मात्रामा ऋण काढ्ने गरेको थियो । उसको बक्यौता दायित्व (लायबिलिटी) नै ३०० अर्ब डलरभन्दा बढी भएकेको बताइन्छ । 

ऋण तिर्न एभरग्रान्डीलाई धौधौ परेपछि केही साताअघि कम्पनीका शेयरधनी तथा लगानीकर्ताहरूलाई उसले नगद प्रवाहको समस्याका विषयमा चेतावनी दिएको थियो । हुन पनि अत्यधिक ऋण काढेर कम्पनी चलाउँदा तरलताको समस्या अवश्यम्भावी हुन्छ ।

थप पैसा उठाउन नसकेमा आफूले डिफल्ट गर्ने उसले बताएको थियो र त्यसले वित्तीय संकट आउन सक्ने भनी सचेत गराएको थियो । त्यसपछि लगानीकर्ताहरूले आफ्नो अधिकार परित्याग गरेका थिए र १३ अर्ब डलर ऋण चुक्ता गर्न सकिएको थियो । तर अझै पनि धेरै ऋण चुकाउन बाँकी नै रहेको अवस्था छ । 

अहिले चीनमा नियामक संस्थाहरूले ऋण प्रवाहको सीमा तोकेर त्यसमा निकै कडीकडाउ गरिरहेका छन् । अनि कम्पनीको नगदप्रवाह कति छ र मौज्दात नगद कति छ भन्ने कुराको आधारमा उक्त कम्पनीले कति ऋण लिन पाउँछ भन्ने कुरालाई पनि नियामकहरूले निर्धारित गरेका छन् । 

वित्तीय जोखिमको उचित व्यवस्थापनका लागि यस्तो नियम लगाइएको हो । त्यसले गर्दा एभरग्रान्डीले आफ्ना ऋणदाता, आपूर्तिकर्ता र लगानीकर्ताहरूको रकम चुक्ता गर्नका लागि फन्ड जुटाउन सकिरहेको छैन ।

त्यसमाथि जोखिममा परेको कारण एभरग्रान्डीले आफ्नो सम्पत्ति (एसेट) पनि बेच्न पाइरहेको छैन । उसलाई एड्भान्स पेमेन्ट दिइसकेका कम्पनीहरूले पनि पैसा फिर्ता मागिरहेका छन् । यसले गर्दा एभरग्रान्डीको तरलताको स्थिति संकटमा परेको छ । 

यस संकटबाट बाहिर निस्कनका लागि कम्पनीले चीन सरकारबाट उद्धार (बेलआउट) को आशा गरेको भए पनि सरकारले त्यसो नगर्ने स्पष्ट पारेको छ । कम्पनीले ऋण पुनःसंरचना गर्नुपर्ने र अन्ततोगत्वा टाट पल्टेको घोषणा गर्नुपर्ने सरकारको आशय छ । 

एभरग्रान्डी टाट पल्टेको घोषणा गरिएमा सामाजिक स्थिरता कायम गराउन आपूर्तिकर्ता, ठेकेदार, घर खरिदकर्ता लगायतलाई क्षतिपूर्ति दिलाउन सरकारले पहल गर्नेछ । चिनियाँ बैंक र विदेशी लगानीकर्ताहरूलाई त्यसपछि क्षतिपूर्ति दिइनेछ ।

कम्पनीलाई दिवालिया घोषणा गर्नुअगाडि उद्धार नगर्ने चीन सरकारको सुनियोजित नीति हो । दीर्घकालीन नभई अल्पकालीन वृद्धिका लागि थाम्न नसकिने गरी ऋण लिने कामलाई चीन सरकारले रोक्न खोजिरहेको छ । ऋण काढेर घ्यू खान पल्केका चिनियाँ कम्पनीहरूले देशको अर्थतन्त्रलाई नै धराशायी बनाउने स्थिति ल्याउन लागेपछि त्यसलाई रोक्न चीन सरकार सक्रिय बनेको हो । 

सी चिनपिङ राष्ट्रपति बनेदेखि अत्यधिक ऋणप्रवाहलाई रोक्ने अनि ठिक्कको आर्थिक वृद्धिमा जोड दिने नीति अपनाइरहेका छन् । यही आर्थिक रणनीतिका कारण सीको शासनकालमा चीनको वार्षिक वृद्धिदर लगभग १० प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ । पश्चिमाहरूले चीनको अर्थतन्त्र सुस्त भयो भन्दै काखी बजाइरहेका छन् तर यो चीन सरकारको दीर्घकालीन रणनीतिको एक कदम हो ।

अत्यधिक वृद्धिदर कायम रहँदा त्यसले विभिन्न जोखिम निम्त्याउँछ र त्यो दिगो पनि रहँदैन । व्यवस्थापन गर्न सकिने हदको मध्यमस्तरीय आर्थिक वृद्धिमार्फत थप सिर्जनशील र सुसंगठित अर्थतन्त्र निर्माण हुने सीको धारणा छ । 

त्यसैले ऋण काढेर विभिन्न क्षेत्रमा हात हाल्ने एभरग्रान्डी जस्ता कम्पनीलाई टाट पल्टिन दिएर राष्ट्रपति सीले सरकार कम्पनीको उद्धारमा नलाग्ने, कम्पनी आफैंले व्यवस्थापन गर्न सक्ने वृद्धिमा जोड दिनुपर्ने सन्देश दिएका छन् । ऋणमा आधारित द्रुत विकासलाई नै आधार मानेर विभिन्न विश्लेषकहरूले चीनको पतनको भविष्यवाणी गर्ने गरेका छन् तर चीनको दूरदृष्टियुक्त नेतृत्वले त्यस्तो स्थिति आउन नदिन समुचित कदम चालिरहेको छ ।

यो अमेरिकाको भन्दा फरक दृष्टिकोण हो । लेहम्यान ब्रदर्शले ल्याएको आर्थिक संकटपछि अमेरिकी सरकारले बैंक तथा वित्तीय संस्थाहरूको उद्धार गरेको थियो भने सर्वसाधारणलाई चाहिँ अलपत्र छोडिदिएको थियो । 

त्यसबाट जन्मेको असन्तुष्टिका कारण अकुपाई वाल स्ट्रीट जस्तो अभियानको जन्म भएको थियो भलै त्यसले अमेरिकाको गतिछाडा पूँजीवादलाई लगाम कस्ने बृहत् आन्दोलनको रूप लिन सकेन । तर सन् २००८ को आर्थिक मन्दीका कारण पश्चिमको क्षयीकरणको बाटो चाहिँ खनियो अनि डोनल्ड ट्रम्प जस्ता लोकरञ्जनवादीहरूको उदयमा पनि योगदान गरिदियो । 

चीनले विश्वव्यापी आर्थिक मन्दीको त्यस कारकतत्त्वको गहिरो अध्ययन गरेकाले त्यो पासोमा आफू नफस्ने रणनीति बनाइसकेको छ । अमेरिकाले घरजग्गा कारोबारको अत्यधिक वृद्धिका कारण आएको बबललाई व्यवस्थापन नगरी छाडा छोडेकाले आर्थिक संकटको बाटो खनिएको थियो । अनि अमेरिकी डलर संसारको कारोबार मुद्रा भएकाले अमेरिकी अर्थतन्त्रमा आएको संकटले अन्यत्र पनि संकट पारेको थियो । 

तर चीनले विश्वमा आर्थिक संकट आउन नदिनका लागि एभरग्रान्डीलाई टाट पल्टिन दिए पनि त्यसका लगानीकर्ता र त्यसलाई ऋण दिनेहरूलाई क्षतिपूर्ति दिलाउनेछ भनी माथि पनि उल्लेख गरिएको छ । विश्वका सबै समस्या बेइजिङले नै गराइरहेको हो भन्ने किसिमको भाष्य पश्चिमले निर्माण गरिरहेको स्थितिमा चीनले विश्वव्यापी आर्थिक संकटको कारक आफू नबन्ने जिम्मेवारी लिएको छ । 

र सबभन्दा महत्त्वपूर्ण कुरा ऋण काढेर आर्थिक वृद्धि गराउन खोज्ने जोखिमयुक्त अर्थतन्त्रको मोडलमा आमूल परिवर्तन गराउने चीनको योजना हो । त्यसैले चीनको पतनको कामना गर्ने परपीडक पश्चिमाहरूले एभरग्रान्डी संकटलाई अमेरिकाको लेहम्यान ब्रदर्शसँग तुलना गरेको भए पनि त्यो आधारहीन देखिन्छ ।

यो सामग्री तयार पार्न एसिया टाइम्स, आरटी, एक्सियोस, सीटीभी न्युज, द फ्री प्रेस जर्नल, ब्लूमबर्ग लगायतमा प्रकाशित समाचार तथा विश्लेषणको सहायता लिइएको हो ।

विन्देश दहाल
विन्देश दहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्