
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिले उठाएका प्रश्न र सुझावको जवाफ दिएका छन् । पोखरेलले महाधिवेशनमा संगठनात्मक प्रस्ताव पेश गरेका थिए ।
‘आगामी दिनमा एमाले चुनौतीलाई सामना गर्दै कसरी अगाडि बढ्न सक्छ भन्ने निष्कर्षसहित आएका सुझाव मननयोग्य छन् । पार्टीमा विचारमा एकरुपता हुनुपर्छ,’ उनले भने, ‘विचारमा एकरुपता भएन भने स्वार्थ समूह जस्तो हुन्छ, फेडेरेसन हुन्छ भनेर आएका सुझाव सकारात्मक छन् । विचारमा एकरुपता नहुने हो भने पार्टी कम्युनिष्ट पार्टी जस्तो हुँदैन । अब विचारमा एकरुपता कायम गरेर एमाले अगाडि बढ्छ ।’
उनले जनताले स्वीकार गरेका र पत्याएका व्यक्ति नै नेता हुने विश्वास दिलाए । ‘कम्युनिष्ट पार्टीका नेताहरू जनतामा स्थापित भएका, जनताले पत्याएका व्यक्ति नै नेतृत्वको जिम्मेवारीमा पुग्न सक्छन्,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु जनतामा स्थापित भएका, जनताले स्वीकार गरेका र जनताले पत्याएका व्यक्ति नै नेता हुनेछन् । हामी आगामी दिनमा त्यसै गरी अगाडि बढ्नेछौँ ।’
यस्तै उनले नेतृत्वमा युवाहरूलाई पनि समेट्नुपर्ने बताए ।
‘नेतृत्वको कम्पोजिसनमा युवाहरूलाई पनि समेट्नुपर्छ । मापदण्ड पूरा गरेको २० प्रतिशत युवालाई नेतृत्वमा समेट्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको छु, ’ उनले भने, ‘नेतृत्व निर्माण गर्दा उमेरको कुरा मात्रै हुँदैन एजेण्डा पनि महत्त्वपूर्ण हुन्छ । हिजो नेतृत्वको लागि समावेशिता र समानुपातिक विषय महत्त्वपूर्ण रह्यो । अब यी दुवै एजेण्डा बोकेर नेतृत्वमा आउने अवस्था रहँदैन । जसले समृद्धिको एजेण्डा ल्याउँछ, जसले आन्दोलनको एजेण्डा बोक्छ त्यही व्यक्ति नेतृत्वमा आउन सक्छ ।’
समावेशितालाई आधार बनाएर कम्युनिष्ट पार्टी बन्न नसक्ने उनले बताए । ‘जनताको संख्याको आधारमा सदस्य राखेर कम्युनिष्ट पार्टी बन्दैन तर समाजको विविधितालाई ख्याल गर्नुपर्छ,’ उनले भने, ‘विधानमा यसलाई सम्बोधन गर्न यथोचित व्यवस्था गरिएको छ । कम्युनिष्ट पार्टी विचार र योग्यताबाट मात्रै बन्न सक्छ ।’