११ असोजमा काठमाडौंबाट विराटनगर उडेको जहाजमा देखिएको समस्याबारेको आन्तरिक जाँचबुझ रिपोर्ट बुद्ध एयरले आज नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ ।
ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि विराटनगरमा अवतरण गर्न नसकेर सो जहाज (९ एन–एनआई) काठमाडौं फर्किएको थियो ।
विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको सो जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल थिए ।
बुद्ध एयरले सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारेको थियो ।
जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरेको बुद्ध एयरले विज्ञप्ति जारी गरेर जनाएको थियो ।
सो जहाजमा वयस्क ६८ जना, बच्चा २ जना, शिशु ३ जना गरी ७३ जना यात्रु थिए ।