
२०७८ असोज १६ गते शनिवार बिहान पौने २ बजे बुटवलको नेपालगञ्ज रोडमा बा४ख ९४५९ नम्बरको टिप्पर दुर्घटना भयो । दुर्घटनामा परी २ जना घाइते भए । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
घाइते हुनेमा चालक रिब्दीकोट गाउँपालिका पाल्पाका ३४ वर्षीय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षीय एक युवक रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
***
असोज १० गते धनुषाको जनकपुर उपमहानगरपालिका– १३ पिडारी चोकमा ना ७ ख ४७४८ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत मुज्जफ्फरपुर बिहारका ४५ वर्षीय आनन्दकिशोर दासको मृत्यु भयो । प्रहरीका अनुसार टिप्परको ठक्करबाट घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
घटनापश्चात आक्रोशित भीडले टिप्परमा आगजनी समेत गर्यो ।
***
गएको जेठ ३० गते पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवा जोर्तेमा २ वटा टिप्पर एकआपसमा ठक्कर खाएर भीरबाट खस्दा गुल्मी रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षीय टंकबहादुर कुँवरको घटनास्थलमा नै मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।
सोही गाउँकै टिप्पर चालक ३८ वर्षीय अशोक कुँवर, ४२ वर्षीया रमा कुँवर, ललितपुरका २६ वर्षीय टिप्पर चालक राजेन्द्र बजगाईं, नवलपरासी सुनवल–९ का २२ वर्षीय किसन कुँवर घाइते भएका थिए ।
***
यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपालमा दैनिकजसो ३/४ वटासम्म टिप्पर दुर्घटनाका खबर आउने गरेका छन् । टिप्पर दुर्घटना बर्सेनि बढिरहे पनि राज्य र सम्बन्धित निकायको उचित ध्यान यसतर्फ जान सकेको छैन ।
दुर्घटनामा टिप्पर आफ्नै बनावट र चालकहरूको भूमिका त छँदैछ, हाम्रा सडकहरू पनि खासै गतिला छैनन् । सडकको अवस्था सुधार गर्नुपर्ने सडक विभाग सवारी चालकको लापरवाहीलाई मात्र कारण देखाएर पन्छिने गरेको छ ।
कमजोर सडकमा अत्यधिक लोड बोक्ने टिप्पर गुड्दा सडकको अवस्था कमजोर हुनुका साथै दुर्घटनाहरू पनि निम्तिरहेको सडक विभाग स्वयं स्वीकार्छ ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो ४ वर्षमा २ हजार २४९ वटा टिप्पर दुर्घटनाका घटना भएका छन् । ती दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि सोही हाराहारीमा रहेको प्रहरी अधिकारीहरू बताउँछन् । यद्यपि मृतकको केन्द्रीकृत डाटा प्रहरीसँग छैन ।
आर्थिक वर्ष २०७५/०७६ मा ६४५ वटा दुर्घटना भएका छन् । जसमा उपत्यकामा ४३४, प्रदेश नम्बर १ मा ५१, २ नम्बर प्रदेशमा ३५, बागमतीमा ४६, गण्डकीमा १३, लुम्बिनीमा ५७, कर्णालीमा २ र सुदूरपश्चिममा ७ वटा दुर्घटना भएका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ उपत्यकामा ४८७, प्रदेश नम्बर १ मा ४२, २ नम्बर प्रदेशमा ४५, बागमतीमा ६०, गण्डकीमा १७, लुम्बिनीमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिममा ६ वटा गरी ७१९ वटा टिप्पर दुर्घटना घटना भएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा उपत्यकामा ४१४, प्रदेश नम्बर १ मा ७९, २ नम्बर प्रदेशमा ८६, बागमती प्रदेशमा ८८, गण्डकीमा १५, लुम्बिनीमा ७२, कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा १८ गरी ७८० वटा टिप्पर दुर्घटना भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ ।
यो आर्थिक वर्षको भदौ मसान्तसम्म अर्थात २ महिनामा १०५ वटा टिप्पर दुर्घटना भएका छन् । जसमा उपत्यकामा ५२, प्रदेश १ मा १०, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ११ र कर्णाली प्रदेशमा १ वटा दुर्घटना भएको देखिन्छ ।
बागमती प्रदेशअन्तर्गत पर्ने भए पनि प्रहरीले काठमाडौं उपत्यकाको छुट्टै तथ्यांक राख्ने गरेको छ । उपत्यका बाहेकका अन्य जिल्लाको तथ्यांक भने बागमती प्रदेश भनेर राख्ने गरिएको छ ।
यसरी हेर्दा दैनिक करीब ३/४ वटा टिप्पर दुर्घटना भएका छन् ।
अधिकांश दुर्घटना काठमाडौं उपत्यकामा भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार उपत्यकामा मात्रै १ हजार ३८७ वटा दुर्घटना भएका छन् ।
विज्ञहरू टिप्परको बढ्दो दुर्घटनामा विभिन्न कारण देख्छन् । पहिलो त टिप्परको आफ्नै बनावटका कारण दुर्घटना हुने गरेको छ ।
टिप्परको अगाडिको मोहोडाको बनावटका कारण चालकले नजिकै रहेका सवारी साधन नदेख्ने हुँदा दुर्घटना हुने गरेको चालकहरू समेत स्वीकार्छन् । अन्य कारणमा अधिकांश चालक कम उमेरका र अपरिपक्व हुनु, बढी लोड बोक्नु र सडकको अवस्था दयनीय हुनु आदि रहेका छन् ।
संघीयता आएपछि कारवाही गर्न समेत पाइएन : अर्जुनजंग थापा, महानिर्देशक सडक विभाग
सवारी साधन तथा यातायात व्यवस्था नियमावली– २०५४ ले ट्रक १ एक्सल अर्थात २ चक्काले १०.२ टन लोड बोक्न सक्ने व्यवस्था गरेको छ, तर नेपालको सडकको अवस्था हेर्दा १ एक्सलबराबर ८.१ टन मात्र बोक्न मिल्ने क्षमता रहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
‘हाम्रो सडकको क्षमता पर एक्सल ८.१ टन हो तर यहाँ २२ टनसम्म बोक्छन् । जसले गर्दा सडक चाँडै बिग्रेका छन्,’ महानिर्देशक थापाले लोकान्तरसँग भने, ‘अब अहिले हामीले कारवाही गर्न पाउँदैनौं, संघीयतापछि यसको जिम्मा प्रदेशलाई छ, तर उसले हेर्दैन ।’
सार्वजनिक सडक ऐन– २०३१ को नियम १६ (क)ले सडकको वजन तह निर्धारण गरेर तोक्न पाउने व्यवस्था गरेको छ ।
ट्रक–टिप्परले टेरेनन् ः इञ्जिनियर शिवप्रसाद नेपाल, उपमहानिर्देशक, सडक विभाग
उपत्यकालगायत देशभरका सडकहरूको अवस्था उतिसारो खराब नभएको तर ट्रकहरूले नियमबाहिर गएर लोड बोक्दा समस्या भएको सडक विभागका उपमहानिर्देशक तथा योजना तथा अनुगमन महाशाखाका प्रमुख इञ्जिनीयर शिवप्रसाद नेपालले बताए ।
ई. नेपालका अनुसार सडकमा कति लोड बोक्न सक्ने भन्ने कुरा कति एक्सल (चक्का थप्ने प्रविधि) को गाडी हो भन्ने कुरामा निर्भर हुन्छ । धेरै लोड बोक्दा धेरै चक्का थप्दा सडकलाई भार नपर्ने उनले बताए । तर टिप्परलगायत ठूला ट्रकहरूले खर्च बचाउन गाडीको चक्का नथपिकन नै चलाउँदा सडकलाई भार परेको उनको भनाइ छ ।
‘हामीले कति चक्के गाडीले कति भार बोक्न पाउने भन्ने निर्धारण गरेको छौं, तर टिप्परहरूले अटेर गरेर कम चक्का भएका गाडीले पनि धेरै लोड बोक्दै आएका छन्,’ उपमहानिर्देशक नेपालले लोकान्तरसँग भने, ‘जसले गर्दा हाम्रो सडक कमजोर हुँदै गएको छ ।’