३० असार २०८३, मंगलबार

काठमाडौंमा असोज २२ बाट खसीबोकाको बिक्री शुरू हुने

काठमाडौंमा असोज २२ बाट खसीबोकाको बिक्री शुरू हुने
फाइल तस्वीर।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रवारदेखि (असोज २२) खसीबोकाको बिक्री वितरण शुरू गर्ने भएको छ । 

कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । 

गत वर्ष एक हजार खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी प्रमुख ज्ञानु थापाले घटस्थापनाको भोलिपल्टदेखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसीबोका बिक्री वितरण शुरू गर्ने जानकारी दिए । 

कम्पनीले दाङको तुलसीपुरबाट ८०० वटा र हेटौडाबाट एक हजार २०० वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए । 

कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रूपैयाँ मूल्य घटाएर खसीबोका बिक्री गर्ने प्रमुख थापाले जानकारी दिए । 

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । 

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरूमा ५ देखि १० रूपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्