
कोशी गाउँपालिका-७ नेपाल भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । साथै अपहरणमा संलग्न रहेको अभियोगमा भारत सुपौल ग्राम पञ्चायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्धार गरेको हो ।
मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरू लैजाने ठेकेदार रहेकोमा मियाँलाई नेपाली कामदारहरू १५-२० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनी नेपालतर्फ सुनसरी कोशी गाउँपालिका-७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम २ लाख पैसा भुक्तानी लिई कामदार नपठाएपछि मियाँ लगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अपहरण मुक्त भएका ती बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै मियाँमाथि अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।