३० जेठ २०८३, शनिबार
तल्लो तहका सरकारी कर्मचारीको दशैं

सिंहदरबारका कार्यालय सहयोगीको दशैं : इच्छा मारेर मनाउनुपर्छ, ऋण वा सापटी नलिई हुन्न !

असोज २८, २०७८
सिंहदरबारका कार्यालय सहयोगीको दशैं : इच्छा मारेर मनाउनुपर्छ, ऋण वा सापटी नलिई हुन्न !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३४ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत ५५ वर्षीय अमर श्रेष्ठलाई दशैं आएपछि रमाइलो भन्दा पनि तनाव हुन्छ। 

भन्नका लागि त उनी सरकारी कर्मचारी हुन्, तर निकै न्यून पारिश्रमिक पाउने श्रेष्ठलाई दशैं मनाउन कहिल्यै तलबले पुग्दैन ।

उनको परिवारमा श्रीमती र २ छोरा छन् ।

'२८ हजार रुपैयाँ जति तलब र त्यति नै पेस्की पाउँदा समेत दशैंमा त १० देखि २० हजार रुपैयाँ सम्म ऋण नै हुन्छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'हामी नेवार हो । दशैंमा नेवारको खर्च तपाईंलाई थाहा नै होला, मासु खानै पर्‍यो, लुगाफाटा किन्ने पर्‍यो।' मासुमै १५ देखि २० हजार रुपैयाँ खर्च हुन्छ । १० देखि १५ हजार रुपैयाँ लुगाफाटोमै खर्च हुने गरेको उनले बताए।

'अलिअलि रमाइलो गर्न खोज्यो कि तलब, पेस्की सबै रकम सिद्धिन्छ,' उनले भने, 'त्यस पछि महिनामा हुने खर्च कोठा भाडादेखि अन्य नियमित खर्चका लागि ऋण वा सापटी लिनुपर्छ।'

….

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १८ वर्षदेखि कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी शेरबहादुर थापा त तलबले मात्र नपुगेपछि बेलुका बाहिर निजी क्षेत्रमा पनि काम गर्छन्।

२४ हजार रुपैयाँ तलब छ तर २ छोरा, श्रीमतीसहितको परिवार पाल्न समस्या हुने गरेका कारण बाहिर काम गरेर महिनाको थप ८ देखि १० हजार रुपैयाँ कमाएपछि जसोतसो काठमाडौंमा गुजारा हुने गरेको उनले बताए।

त्यस्तो अवस्थामा नेपालीहरूको ठूलो पर्वको रूपमा रहेको दशैं त  मनाउनै पर्ने हुनाले थोरैथोरै गरेर भए पनि ठीक्कठीक्क हिसाबले खर्च गर्ने गरेको उनले सुनाए।

'घर परिवारका सदस्यहरूको पनि अरु छिमेकी जस्तै देखासिकी गर्ने इच्छा त हुन्छ नै, तर थोरै आम्दानी हुने हामी जस्तो गरीब मानिसले आफ्ना छोराछोरीको इच्छा मारेर नै दशैं मनाउनुपर्छ,' उनले बताए।

….

शहरी विकास मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ५१ वर्षीय भीमबहादुर बुढाको पनि समस्या उस्तै छ । यस वर्षको साउन महिनादेखिको महंगी भत्ता पनि सरकारले काटिदिएपछि झन् आम्दानी कम भएका बेला दशैं मनाउन समस्या भएको उनी बताउँछन्। 

'ठूलाबडाले गरे जस्तो हामीले गर्नु भएन । जसरी पनि अलिअलि रमाइलो गर्नै पर्यो ,' उनले भने, 'मासु खानै पर्यो , कपडा किन्नै पर्‍यो, छोराछोरीको रहर पूरा गर्नै पर्‍यो।'

तलब मात्रले नपुग्ने हुँदा कहिलेकाहीँ सापटी समेत लिनु परेको उनले सुनाए। 'दशैंमा जसोतसो म्यानेज गर्ने हो, आफ्नो तलबले मात्र धान्ने कुरा हुँदैन, धौ-धौ गरी जेनतेन गर्नु परेको छ, गरेका छौं,' उनले भने। त्यही मन्त्रालयमा काम गर्ने अर्का कार्यालय सहयोगी दीपक कार्की पनि कम तलब भएका कारण दशैंमा परिवारका सदस्यको इच्छा पूरा गर्न समस्या हुने गरेको बताउँछन्।

'जहाँ अप्ठ्यारो त्यही उपाय भनेजस्तै १ हजार दक्षिणा दिनुपर्ने ठाउँमा ५ सय दिने, ५ सयको ठाउँमा २ सय दिने, २ सय ठाउँमा १ सय दिने गरेर भए पनि काम चलाउने हो,' कार्कीले भने, 'जसोतसो दशैं मनाउँछौं, पर्व हो, नपुग हुँदा सापट लिएर पनि दशैं मनाउनै पर्छ।'

सिंहदरबारका विभिन्न मन्त्रालयमा काम गर्ने कार्यालय सहयोगीहरूलाई दशैंमा मात्र होइन, कम तलबका कारण अन्य महिनामा समेत घर परिवार चलाउनै मुस्किल हुने गरेको गुनासो गर्छन्। 'हामीले काम सबै भन्दा बढी गर्नुपर्छ, दुःख नगरी हुन्न, दुःख गर्नै पर्छ,' कार्कीले भने, 'तर दुःख गरे अनुसारको पारिश्रमिक भने हुँदैन, राज्यले त्यो कुरा नबुझेको जस्तो भयो।'

कम्तिमा पनि कार्यालय सहयोगीको तलब २५ हजार रुपैयाँ हुनु पर्ने उनीहरूको कथन छ। १२ देखि १५ हजार रुपैयाँसम्म त कोठा भाडामै जान्छ । पछि रासन पानी, लुगा कपडा, बालबच्चाको पढाइ-लेखाइ सबै गर्दा त्यति सानो रकमले नपुग्ने गरेको उनीहरू बताउँछन्। 

'एउटा सचिवले पनि त्यही बजारमा गएर तरकारी, मासु किन्ने हो, उहाँहरूको लागि बजारमा जे मूल्य हुन्छ, त्यही मूल्यमा हामी सामान्य कर्मचारीले पनि त्यही मूल्यमा तरकारीदेखि मासुसम्म किन्ने हो,' उनले भने, 'त्यसैले आम्दानी फरक–फरक हुने भएपनि खर्च त उस्तै हुने हो।'

salt training

कमेन्ट गर्नुहोस्