सियारामको कथा

जसले देउवासहित नेपालका कैयन भीआईपीको कपाल काटे

‘पहिले देउवाले सहयोग गर्छु भन्दा लिएनन्, अहिले भेट्नै सकेनन्’

जसले देउवासहित नेपालका कैयन भीआईपीको कपाल काटे

ललितपुरको कुपण्डोल–पुल्चोक सडकबाट बखुण्डोल मोडिने कर्नरमा एउटा सानो सटरमा सैलुन पसल छ, जहाँ सियाराम ठाकुरले तीन दशक बिताए । शुरूमा पुल्चोकको मूल सडकमा उनको सैलुन पसल थियो, तर भाडा तिर्न नसकेपछि उनी कर्नरको एउटा साघुरो सटरमा बसेर निरन्तर काम अगाडि बढाइरहेका छन् । अगाडि सडकमा भाडा तिर्न नसकेपछि घरभेटीले नै उनलाई सानो सटर बनाइदिए ।


Advertisement

पञ्चायतको समयमा काठमाडौं आएर सैलुन पसल सञ्चालन गरेका सियारामले उनकै शब्दमा ‘तीन जुग’का मन्त्रीहरूको कपाल काटे । पञ्चायत, प्रजातन्त्र काल र गणतन्त्रको समयमा धेरै मन्त्रीको दारी कपाल सिंगार्ने काम उनले गरे । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री रहेको समयमा २०४८ पछिका दिनमा उनले कपाल काटिदिन्थे । 


Advertisement

‘उहाँको अलि छटपटे बानी थियो, आज मिटिङ छ, छिटो–छिटो काटिदेऊ भन्ने’ पुराना दिन सम्झिँदै सियारामले भने ।

 


Advertisement

जतिबेला बाहिर कपाल काटेको शुल्क लगभग ५० रुपैयाँ थियो मन्त्री क्वार्टरमा गएर कपाल काट्दा देउवाले ५ सय रुपैयाँ दिन्थे । 

लामो समय कपाल काट्दा देउवासँग उनको भेट बाक्लिँदै गयो । गृहमन्त्री रहेको समयमा देउवाले सियारामलाई केही सहयोग गर्न खोजेका थिए, तर आफ्नो कमाइ राम्रै रहेका उनले खासै लोभ गरेनन् । दोस्रो व्यक्तिले कर गरेपछि मात्र सियारामले मन्त्रालयमा एउटा निवेदन हालेका थिए, निवेदनको काम चलिरहेको समयमा संसद् विघटन भएपछि उनको काम अलपत्र भयो । 

गृहमन्त्रीबाट हटेपछि देउवासँग उनको भेट एकपटक महेन्द्र पुलिस क्लबमा भयो । पूर्व अञ्चलाधीश बद्रिविक्रम थापाको छोरा किरण विक्रम थापाले आयोजना गरेको भोजमा । ‘मैले उहाँको धेरैपटक कपाल काटेँ, त्यो बेला उहाँले मलाई सहयोग गर्न खोज्नुभएको थियो जतिबेला मलाइ आवश्यक थिएन, अहिले सहयोग चाहिएको छ प्रधानमन्त्रीलाइ भेट्नै सक्दिनँ,’ उनले भने ।

२०४२ सालका काठमाडौं आएर सैलुन पसल शुरू गरेका सियारामले पञ्चायतदेखि गणतन्त्रसम्म मन्त्री बनेका नेताहरूको कपाल मिलाइदिए । त्यो बेला सीमित सैलुन पसल रहेकोमा पुल्चोक आसपासमा उनको मात्र पसल थियो । मन्त्री क्वार्टरमा कपाल काट्ने जिम्मा उनकै हुन्थ्यो– पञ्चायतदेखि गणतन्त्रसम्म । त्यो बेला पुल्चोक सडकमा सटर भाडा ४ सय रुपैयाँ थियो । 

‘भीआइपी’ मध्ये उनले सबभन्दा धेरै कपाल काटेको व्यक्ति डा. रामवरण यादवको हुनुपर्छ । मन्त्री हुँदा या नहुँदा प्रायः सियारामले नै रामवरणको कापाल काट्ने गरेका थिए । २०५८ साल जेठमा दरबार हत्याकाण्ड भएपछि सियारामको सैलुनमा कपाल काट्नेको लामो लाइन थियो, रामवरण यादव कपाल खौरिन ७ पटक आए । तर भीड भएपछि साँझ सियाराम रामवरणको घरमै गएर कपाल काटिदिए । ‘उहाँले गाडी पठाइदिएपछि साँझ घरमै गएर कपाल काटें, त्यो बेला कुसुन्तीतिर बस्नु हुन्थ्यो’ सियारामले सम्झिए । 

आफूले धेरै पटक कपाल काटेको र एउटै भेगको नेता डा. रामवरण राष्ट्रपति भएकोमा उनी ज्यादै खुशी थिए । एक दिन राष्ट्रपतिलाई भेट्न भन्दै कार्यालय पुगेका थिए । ‘सामान्य आदमीले भेटन पाउँदैन भनेर फर्काइदिए, मन खिन्न भयो, फेरि गइनँ,’ ठाकुरले सम्झिए ।

२०४८ सालपछि मन्त्री बनेका कांग्रेसका नेताहरू शायदै होलन्, सियारामले कपाल नकाटेको । कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मका नेताहरूको कपाल काट्ने काम उनले गरे ।

भैँसेपाटी र बाँडेगाउँमा बसाइँ सर्नुअघि भट्टराईको कपाल मिलाउने काम सियारामकै थियो । तिनताका भट्टराई बखुण्डोलमै बस्दथे । ‘पान खान निक्सने बेलामा पनि, अच्छा हे न ठाकुरजी ? भन्दै जाने आउने गर्नुहुन्थ्यो,’ ठाकुरले स्मरण गरे । 

सद्भावनाका अध्यक्ष गजेन्द्र नारायण सिंहदेखि बद्री मण्डल र खोवारी रायसम्म उनका ग्राहक थिए । गणतन्त्र स्थापना भएपछि उनले माओवादीका स्व. पोष्टबहादुर बोगटी तथा हाल राजनीतिबाट अलग रहेका लोकेन्द्र विष्ट मन्त्री भएको समयमा कपाल काटे । २०४८ पछि मन्त्री बनेका अधिकांशको कपाल काटे पनि कसैको नाम बिर्सिए ।

पञ्चायतकालका गृहमन्त्री एवं राप्रपा नेता भोजराज घिमिरे, यमबहादुर मल्ल, रामविलाश यादव, सोनेलाल यादव, महेश्वर सिंह लगायत धेरैको कपाल सियारामले मिलाए । 

२०५६ सालमा तारानाथ रानाभाट प्रतिनिधि सभाको सभामुख बनेपछि उनका एक ग्राहक थपिए । ‘सभामुखजीले धेरै माया गर्ने, दशैंमा च्याङ्ग्राको मासुसित भात खुवाउनुभएको थियो,’ सियारामले पुराना दिन सम्झिए ।

नेकपा एमालेका नेता स्व. भरतमोहन अधिकारीले पछिल्लोपटक अर्थमन्त्री हुँदासम्म उनको सेवा लिएका थिए ।

‘महोत्तरीस्थित मेरो गाउँमा जग्गा लिएर मन्दिर बनाउँछु भन्नु भएको थियो, मलाई जग्गा खोजिदिन आग्रह पनि गर्नुभएको थियो, पछि खासै सम्पर्क भएन,’ सियारामले सम्झिए ।

‘भीआईपी’ग्राहकलाई भनेर अरूलाई जागिर लगाइदिए, आफ्नै छोरीलाई लगाउन सकेनन् 

राष्ट्रिय राजनीतिका चर्चित अनुहारसँगै उनले समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूको पनि कपाल काटे । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलगायत धेरै भीआईपीको कपाल काटे । 

आफ्ना रेगुलर ग्राहक नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई भनसुन गरेर उनले दुई  जनालाई राष्ट्र बैंकमा कार्यालय सहयोगीमा जागिर खुवाइदिए ।

‘त्यो बेला गभर्नरले जागिर खान आऊ भन्नुभएको थियो, तर म गइनँ । ६/७ जनालाई रोजगारी दिएर आफैँ पसल सञ्चालन गरेको मान्छे जागिर खान जाने कुरै भएन,’ उनले स्मरण गरे । 

तीन छोरी र दुई सन्तानका पिता सियारामकी माइली छोरी पाटन कलेजमा स्नातक पढ्दै छिन् । कान्छी छोरी ११ कक्षामा पढ्दैछिन् । तर अहिले स्नातक गर्दै गरेकी छोरीलाई जागिर लगाउन उनले धेरैलाई हारगुहार गरे, कसैले सहयोग गरेनन् । 

‘छोरी जागिर गर्दै पढ्दै गर्छु भन्छे, तर हाम्रो कुरा कसैले पुच्छ्दैन,’ सियारामले दुखेसो पोखे । 

अहिले ब्याच्लर पढ्दै गरेकी छोरीको उमेरमा उनले काठमाडौं आएर व्यावसाय शुरू गरिसकेका थिए । 

जिन्दगीको ६० औं वसन्त नजिकिँदै गर्दा उनलाई जीवनको संघर्षदेखि थकाइ लाग्न थालेको छ ।

‘पहिले कमाइ राम्रो थियो, खर्च थिएन । अहिले खर्च ज्यादा छ, कमाइ छैन,’ सियारामले भने, ‘छोराछोरीलाई कतै जागिर लगाउन सकियो भने अब विस्तारै गाउँ फर्किने हो ।’

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्