२२ असार २०८३, सोमबार

भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर वितरण, काठमाडौं महानगरमा चलाउन नपाइने

कात्तिक २०, २०७४
भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर वितरण, काठमाडौं महानगरमा चलाउन नपाइने

काठमाडौं, ७ असार– १२ वैशाख २०७२ को भूकम्पबाट घरबास गुमाएका पीडितहरुले आजदेखि ट्याक्सीको नम्बर पाउने भएका छन् ।

आवेदन संकलन गरेको झण्डै एक वर्षपछि यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । ट्याक्सी वितरणका लागि आह्वान गरिएकोभन्दा धेरै बढी आवेदन परेकाले विभागले गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण गर्न लागेको हो ।

विभागले तीन दिनसम्म गोलाप्रथा गरी आवेदकमध्येबाट १ हजार ५ सयलाई ट्याक्सी नम्बर वितरण गर्ने छ । भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सीका लागि सरकारले नै सहुलियत दरमा कर्जाको समेत व्यवस्था गरेको छ ।

तर भूकम्पपीडितले पाउने नयाँ ट्याक्सी भने काठमाडौं महानगरपालिका क्षेत्रमा चलाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाले थप नयाँ ट्याक्सी चलाउन नदिने निर्णय गरेको हो ।

आज (बुधबार) काभ्रे, नुवाकोट र रामेछापका लागि ४९१ ट्याक्सी नम्बरका लागि गोलाप्रथा हुने विभागले जनाएको छ । विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाउनेछन् ।

यस्तै, बिहीबारदेखि दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथा हुने यातायात व्यवस्था विभागका अधिकारीले जनाएका छन् ।

यस्तै शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितका लागि छुट्याइएका नम्बरको गोलाप्रथा हुनेछ । विभागले गर्ने गोलाप्रथा ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ ।

सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितका लागि १ हजार ५ सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेको थियो ।

सरकारले गरेको निर्णय अनुसार विभागले गत वर्ष साउन ५ गतेदेखि भदौ २ गतेसम्म ट्याक्सी नम्बर दर्ताका लागि आवेदन संकलन गरेको थियो । १ हजार ५ सय ट्याक्सी नम्बरका लागि १ लाख ८४ हजारले आवेदन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्