
बागमती प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी ओलीका कारण प्रदेशमा अष्टलक्ष्मी शाक्यकाविरुद्ध उभिने दिन आएको बताएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने बैठकमा गठबन्धनको औचित्य प्रस्ट्याउँदै पाण्डेले भने, ‘प्रतिगमनविरुद्ध, संविधानको रक्षाका लागि, जनमतको सम्मानका लागि र निर्वाचित तानाशाहको विपक्षमा उभिएको गठबन्धन हो ।’
आफू मुख्यमन्त्रीको उम्मेदवार रहेको र आफ्नो पक्षमा ५९ जना सांसदको साथ रहेको पाण्डेले बताए ।
‘दुईपटक संसद् विघटन गर्ने केपी ओलीकै कारण प्रदेशमा अष्टलक्ष्मी शाक्यका विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’, पाण्डेले भने ।
उनले थपे, ‘अल्पमतमा परेको ३९ दिन भयो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यक्ति किन टाँसिएर बस्नुभयो, अचम्म लागेको छ ।’