आलेख

साहस हुनेहरू जिपलाइन चढ्छन्, नहुनेहरू भित्तो कोपर्छन् !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

साहस हुनेहरू जिपलाइन चढ्छन्, नहुनेहरू भित्तो कोपर्छन् !

एकपटकको आर्मी कमान्डर सधैँभरी आर्मी कमान्डर भनेजस्तै कुनै जमानाको आर्मी कमान्डर हुन् नि त प्रचण्ड, त्यसैले 'आर्मी नेभर रिटायर्ड' भनेजस्तै प्रचण्डभित्रको आर्मीपन अझैसम्म पनि रिटायर्ड भएको छैन। साहसिक 'जिपलाइन'को एउटा डोरीमा 'विदआउट सेक्युरिटी प्रोटोकल' आर्मीजस्तै 


Advertisement

झुण्डिएर एक्सन दिएको दृश्यबाट नै थाहा हुन्छ कि प्रचण्ड शारीरिक र मानसिक रूपमा कति जुझारू छन् भनेर । 


Advertisement

युवा अवस्थामै बुढ्यौली लागेका केही फट्यांग्राहरूलाई प्रचण्डको यो आर्मीको जस्तो साहस मन परेको छैन, किनकि उनीहरूलाई लागेको थियो- 'प्रचण्ड अब बुढो भैसके, केही गर्न सक्दैनन् ।' 

तिम्रो उमेरमा प्रचण्ड आफ्नो काँधमा सिंगो देश बोकेर हिँडिरहेका थिए, बाबु । दक्षिण एसियामा प्रगतिशील मोर्चा सम्हालिरहेका थिए । तिमीले यो जवान उमेरमा के गरेका छौ त ? अँध्यारो कोठामा बसेर हानहान भन्दै पब्जी खेलिरहेका छौ हैन ? कि हाइ भोल्टेजको फिल्टर प्रयोग गरेर टिकटकमा लाइभ पो बसेका छौ कि ? 


Advertisement

प्रचण्ड थाकेका छैनन्, हारेका छैनन् र बार्दलीमा गएर भाषण गर्ने लखतरान शारीरिक बनोटमा पनि छैनन् । प्रचण्डको स्फूर्ति देखेर धेरै झस्किएका छन्। प्रचण्डले पनि आफू कोहीभन्दा कम नरहेको सन्देश दिएका छन्।  गतिशील प्रचण्डले जिपलाइनमा झुण्डिएर मजा लिन सक्छन् होला भन्ने धेरैको दिमागभन्दा बाहिरको कुरा थियो। कापीको पानामा टिपेर राख्नुहोस्, दिमागभन्दा बाहिरको कुराको नै एउटा प्रतीक हो- प्रचण्ड । 

मानिस बुढो हुन्छ, रोगी हुन्छ, मर्छ । कोरोनाका कारण हजारौं नौजवानहरू मरे। धेरैले प्रचण्डको मृत्युको कामना गरेका छन्। जिपलाइन चुँडियोससम्म पनि भने । हेर बाबु हो, बच्चा हो, प्रचण्ड र मृत्यु भनेको एउटा खेल हो । हारजीत हुँदैहुँदै आएको हो । साँच्चैको आर्मीले मार्न नसकेको प्रचण्ड पब्जीको आर्मीले कामना गर्दैमा मर्छन् त ? बरु एउटा अध्ययनले के देखाएको छ भने अरूको मृत्युको कामना गर्नेहरू धेरै बाँच्दैनन् । अँ साँच्ची तिमीले आदर्श मान्ने गरेको हिन्दूधर्मको अध्यात्मवादले पनि यही भन्छ हैन र ? 

छी ! के धर्म कर्मको कुरा गर्नु । जोसँग सामान्य नैतिकता छैन, संस्कार र आचरण छैन, राजनीति के हो, विचार के हो, निजी जीवन के हो , क्रान्ति के हो त्यो बुझ्दैन, त्यस्तालाई उपदेश के दिनु । तर सामान्य चेतको कुरा गर्दा दशैंको मुडमा प्राय: मानिसहरू भ्रमण गर्छन्। आफूलाई सरोकारवाला मानिस नै ठान्नेहरूले सामाजिक सञ्जालमा कोही बञ्जीजम्प गरेका फोटो शेयर गरेका छन्। कोही थाइल्याण्डतिर पुगेका देखिएका छन् । कोही हेलिकप्टर लिएर सगरमाथा बेसक्याम्पतिर पुगेर भिडियो हालेका छन् । पाँचतारे होटलको शाही चियापान कार्यक्रममा फोटोशूट गरिरहेका छन्। आममानिसहरू पनि केही न केही गरिरहेका छन्। परिवारसँग घुमफिर गरिरहेका छन् ।

त्यतिञ्जेलसम्म पनि बाढीपहिरो गइरहेको थियो। सवारी साधन दुर्घटनामा परिरहेको थियो। किसानहरूको धानबाली सोत्तर परिरहेको थियो, तर कसैलाई केही भएन। बधाई, शुभकामना नै भयो । तर जब प्रचण्डले जिपलाइन चढेर आन्तरिक पर्यटनको प्रवर्द्धन गरे तब यहाँ धेरैलाई अचानक तनाव भयो । उनीहरूको दिमागमा एकाएक झरी पर्‍यो । एकाएक पहिरो गयो । एकाएक किसानहरूको चिन्ता लाग्यो । कतिसम्म भने जीहजुरी गर्दै शाही भोजको चिउरा र मासु खाएकाहरूले पनि नमीठोसँग डकारे । 

अलिकति फुर्सदिलो समय निकालेर आममानिसहरू जस्तै प्रचण्ड सुकुटे गएका थिए, उनी कुनै मसाज सेन्टर गएका त थिएनन् । रातिराति लुकेर जुवा खेल्न गएका पनि थिएनन् । जे छ सबै खुलमखुल्ला छ । धुलिखेलमा जिपलाइन सञ्चालन गरेकाहरूले नै आइदिनुपर्‍यो भनेर पटक-पटक आग्रह गरेपछि एउटा पूर्व प्रधानमन्त्रीजस्तो मान्छे त्यहाँ जानु कुन दृष्टिकोणबाट गलत भयो? जहाँसम्म बाढीपहिरोको कुरा छ, के नेपालमा अहिले सकारले राष्ट्रिय संकट घोषणा गरेको छ ? के सबै पर्यटकीय गन्तव्यहरू बन्द गरिएका छन् ? के प्रचण्ड कार्यवाहक प्रधानमन्त्री हुन् ? अरूले घुमफिर गर्दा केही नहुने तर प्रचण्ड वर्षको एकपटक परिवारसँग घुम्न पनि नहुने ?

सबैको निजी जीवन हुन्छ । एउटा जोगीको पनि निजी जीवन हुन्छ। बाढीपहिरो आयो, किसानलाई पीडा भयो, कुन माइकलालले दशैंमा मासु र भात खाएन? कसले यसैको कारण निधारमा टीका लगाएन ? एउटा नेताको पनि निजी जीवन हुन्छ । उसलाई पनि घुम्ने रहर हुन्छ। कात्तिक महिनामा पनि पत्याार नलाग्ने बाढी पहिरो आएको छ । तर एउटा खुशीको कुरा के भने प्रचण्डकै कारण यो बाढीपहिरो आएको हो भनेर भन्न सकेका छैनन्, किनकी जतिसुकै ज्याद्रो मान्छेलाई पनि यस्तो भन्न त लाज लाग्छ नि !

यसो सोच्दा लाग्छ, मानिसहरू कतिसम्म गति छाडा बन्न सकेका ? कतिसम्म गिर्न सकेका ? कतिसम्म लाज घीन पचाउन सकेका ? कतिसम्म अमानवीय बन्न सकेका ? प्रचण्डले जिपलाइन चढेको भिडियोमा गरिएको कमेन्ट हेर्दा जो कोहीलाई पनि यस्तै लाग्छ ।

मै जान्ने छु, मै सुन्ने छु, मलाई सबै कुरा थाहा छ, म पढेलेखेको बुझेको मान्छे हुँ, संस्कार संस्कृतिमा हुर्किएको छु भन्नेहरूले नै सामान्य कुरालाई जानीजानी अतिरञ्जित गरेर उचालेको देख्दा हाँसो लाग्ने रहेछ । 

राजनीतिमा समर्थन र विरोध भइहाल्छ, तर आफ्नो शरीरको भैँसी नदेख्ने, अरूको शरीरको जुम्रा पनि टाढैबाट देख्ने प्रवृत्तिका मान्छेहरू देख्दा पारो तात्छ ।

जनता बाढीपहिरोमा परेर मरेका छन्, घरबारविहीन भएका छन्, यस्तो बेलामा प्रचण्ड किन जिपलाइन चेढेको भन्नेहरूले प्रचण्डका कारण आन्तरिक तथा बाह्य पर्यटनको प्रचारमा सहयोग पुगेको कुरा बुझपचाएर बसेका छन् । 

केन्द्रीय राजनीतिमा दैनिक व्यस्त हुने पात्र हुन्, प्रचण्ड । यस्तोमा आफ्नो व्यस्त समयलाई पनि व्यवस्थापन गरेर वर्षमा एकपटक जस्तो घुमफिर गर्दा किन धेरैको मनमुटु जलेको होला ? अचम्म लाग्छ । पारिवारिक जीवनको थकान मेटाउन प्रचण्ड सुकुटे गइरहन्छन् । गिरिजाबाबुको विराटनगर जस्तै प्रचण्डको सुकुटे भएको छ। राजनीतिक थकान मेटाउने एउटा उपाय हो यो । प्रचण्ड मशिन त हैनन् नि, बटन दबायो भने आफैँ फटाफट काम फत्ते हुनलाई । केही मानिसहरू पाँचतारे होटलतिर पुगेर दिनहुँ मसाज गराउँछन्, तर प्रचण्डले जिपलाइन चढ्दा १० रेक्टर स्केलको भूकम्प आएजस्तो महशुस गरेका छन् । 

प्रचण्डले जिपलाइन चढ्दा बाढीपीडितलाई अन्याय हुने, हिजो नै पूर्वराजा ज्ञानेन्द्रले फाइभ स्टार होटलमा चियापान गर्दा चाहिँ कसैलाई केही नहुने ? सत्ता र शक्तिमा जो भएपनि प्रवृत्ति त एउटै होला नि ! सुकिलामुकिलाहरू मसाज सेन्टरमा लुकीलुकी गएजस्तो प्रचण्ड सुकुटे गएको हैन। धुलिखेल त्यही बाटोमा पर्छ। कुनै मानसरोवरको यात्रा पनि हैन । विगतमा पनि प्रचण्डले स-परिवार र्‍याफ्टिङ गर्ने गरेका थिए । उनले र्‍याफ्टिङ गरेपश्चात त्यहाँको पर्यटन ह्वात्तै बढेको त्यहाँका साथीहरूले बताउने गरेका छन् । 

सामन्ती शुक्रकिटहरू प्रचण्डले जिपलाइन चढ्दा झसंग भएका छन् । यिनको छटपटी शुरू भएको छ। बञ्जीजम्प नै हाने भने त बेहोश पो हुन्छन् कि त ।

तिनीहरू बोहोश भएपनि प्रचण्डले जिपलाइन मात्र हैन अब बञ्जीजम्प पनि हान्नुपर्छ । स्काइडाइभ पनि हान्नुपर्छ, किनकी साहस हुनेहरू नै जिपलाइन चढ्छन्, नहुनेहरू भित्तो कोपर्छन् । एकचोटी केपी बा (केपी शर्मा ओली)ले आफूलाई बडो साहसिलो देखाउन केही सिभिल प्रहरीको टेको लगाएर भित्तो कोपरिररेका थिए। त्यस्तो पनि कहीँ साहस हुन्छ त ?

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्