
नुवाकोटकी कविता (नाम परिर्वतन) काठमाडौंमा श्रीमानसँग बस्थिन् । तर उनका श्रीमान्ले दैनिकजसो मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने र मानसिक यातना दिने गर्थे ।
कविताले श्रीमान्को सहयोग नपाएपछि एउटा किताब पसलमा सरसफाइको जागिर गरेर आफ्नो जीविका चलाउन थालिन् ।
एक दिन श्रीमान्ले साथी भन्दै जान्द्रे भन्ने रामबहादुर तामाङको कोठामा लगे । तामाङलाई श्रीमान्ले कवितालाई चिनाए । ती व्यक्तिले फोन नम्बर पनि लिए ।
कवितालाई पटक–पटक फोन गर्न थाले । ‘तिमी निकै मेहनती रहिछौ, घरमा पनि राम्रो रहेनछ, कति श्रीमानको कुटाइ खाएर बस्छौं, मसँग राम्रो काम छ, पैसा पनि राम्रो पाउँछौ, कम गर्न जाने ठाउँ अलि टाढा छ, तर चिन्ता नगर म आफैं लगेर छाडेर आउँछु । साडीमा बुट्टा भर्ने काम गर्नुपर्छ । खाएर बसेर १० हजार दिन्छ,’ भन्दै फकाउन थाले ।
धेरै दिन फकाएपछि दुःख पाउनुभन्दा राम्रो पनि कमाइ हुने भएकाले रामबहादुरले भनेको मान्ने निचोडमा पुगेर उनले भने अनुसारै गर्ने बताइन् ।
रामबहादुरले २०७४ को साउन महिनाको अन्तिमतिर काठमाडौंको स्वयम्भुबाट बस चढेर भारतीय सिमानाका हुँदै नयाँ दिल्लीको पुर्याए ।
उनी दिल्लीस्थित जीबी रोडको ५९ नम्बर कोठीमा बेचिइन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग द्विवेदीका अनुसार उनलाई रामबहादुरले १ लाख भारतीय रुपैयाँमा अर्थात् १ लाख ६० हजार नेपाली रुपैयाँ बिक्री गरेका रहेछन् ।
कविताले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई कोठी नम्बर ५९ मा दैनिक १५ देखी २० जनासँग यौनसम्पर्क गर्न लगाइयो ।
त्यहाँ १ वर्षसम्म बन्धक बनाएर यौन धन्दामा लगाएपछि पुनः कोठी नम्बर ६४ मा बेचिइन् उनी । त्यसपछि पनि अन्य कोठीहरूमा पटक–पटक बेचिएको उनले प्रहरीसँग बताएकी छन् ।
त्यसबीचमा उनलाई पाठेघरमा पानी जम्ने र टीभी रोग भयो ।
कोठी मालिकले मेडिकलमा उपचार गर्न लैजाने क्रममा नेपाली महिलासँग चिनजान भएर २०७७ चैतमा उनी नेपाल फर्किन सफल भइन् ।
नेपाल फर्किएपछि उनले मानव बेचबिखन ब्यूरोमा उजुरी दिइन् । त्यसलगत्तै प्रहरीले कवितालाई बेच्ने नुवाकोट तुप्चेश्वर गाउँपालिका –६ का रामबहादुर तामाङको खोजी गर्यो ।
करीब ६ महिना लगाएर प्रहरीले तारकेश्वर नगरपालिका– ७ फुटुङबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी द्विवेदीले बताए ।