१४ असार २०८३, आइतबार

यसकारण मैले १६ वर्षपछि ‘दर्पण छायाँ’को सिक्वेल बनाएँ : तुलसी घिमिरे

कात्तिक २०, २०७४
यसकारण मैले १६ वर्षपछि ‘दर्पण छायाँ’को सिक्वेल बनाएँ : तुलसी घिमिरे
नेपाली चलचित्र नगरीमा धेरै नायक-नायिकालाई प्रवेश र स्थापित गराउने निर्देशक हुन् तुलसी घिमिरे । चलचित्र ‘दर्पण छायाँ’को व्यापारिक सफलता तथा सुमधुर गीतका माध्यमबाट इतिहासका पन्नामा नाम लेखाउन सफल घिमिरेले लगभग १६ वर्षपछि ‘दर्पण छायाँ’को सिक्वेलका रूपमा ‘दर्पण छायाँ–२’ लिएर आएका छन् ।

‘दर्पण छायाँ’ पछिका केही चलचित्र व्यावसायिक रूपमा असफल भएपनि नयाँ चलचित्र सफल हुनेमा उनी विश्वस्त छन् । उनले फेरि ‘दर्पण छायाँ’ बनाउनुको कारणबारे लोकान्तरका लागि अर्घेलो थापासँग गरेको कुराकानीको सम्पादित अंश:

हामी युवावस्था हुँदा ‘असारे मैनामा पानी पर्‍यो रुझाउने...’ बोलको गीत बज्थ्यो । त्यो उत्तिकै हिट पनि थियो । हामीले गुनगुनाउने त्यो गीतलाई अहिलेको युवाले त्यत्ति नै मन पराउँछ ।

कुनै एक कार्यक्रमको सिलसिलामा मैले त्यहाँ उपस्थित केही भाइ बैनीलाई सोधें – ‘भाइबैनी हो, असारे महिनामा गीत कसले गाएको हो ?’

उनीहरू सबैले एकै स्वरमा उत्तर दिए – प्रशान्त तामाङ ।

लगत्तै मैले उनीहरूलाई उक्त गीतको कम्पोजर, गीतकारको नाम सोधें । कसैले उत्तर दिन सकेनन् । यस्ता कति गीतहरू छन्, जुन गीतको वास्तविकतालाई धेरैले चिनेका छैन ।

‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा...’ यी गीतहरू अझै पनि युवाले खोजी गरेर सुन्छन् । यस्ता गीतहरू युवापुस्तालाई जस्ताको तस्तै चाहिने रैछ । तर कतिपय गीतलाई चर्चामा आउनकै लागि गायकले वीभत्स तरिकाले गाएर गीतको मूल मर्म नै बिगार्ने गरेको पाइन्छ ।

एक कार्यक्रममा मैले ‘असारे मैनामा’ गाउने प्रशान्त तामाङलाई भेटेर भनें – ‘भाइ, तपार्इंलाई यो गीत कसको हो भन्ने त राम्रोसँग थाहा छ नि है ?’

उनले मुसुक्क हाँस्दै भने, ‘थाहा छ दाइ ।’

मैले भनें, ‘हो, हरेकपटक स्टेजमा गाउँदा बताइदिनुभयो भने तपार्इंको उचाइ बढ्छ ।’
यो गीतका गायक छुजाङ रुपाजु, जो अहिले हामीसँग हुनुहुन्न । गीतकार तुलसी गजमेर पनि हामीसँग हुनुहुन्न । तर उहाँको कृति हामीसँग छ ।

भाइको यो उत्तरले मलाई अझ खुशी बनायो । उनले मलाई एक्कासी अंगालो हालेर भने, ‘यो गीतले मेरो उचाइ पनि थपिदियो । गीत आफैं पनि अझ उचाइमा पुग्यो ।’

हो, पुरानो कृतिलाई यसरी नै नयाँ पुस्तामाझ तरोताजा राख्न ‘दर्पण छायाँ २’ बनाउनुपरेको हो । आखिर, ‘दर्पण छायाँ’ एक जमानाको सुपरहिट चलचित्र हो ।

पहिलेको तुलनामा अहिले चलचित्रको मेकिङमा पनि परिवर्तन आएको छ । हामीले ‘दर्पण छाँया’ बनाउँदा अपनाएको सूत्र ‘दर्पण छायाँ २’ मा छैन । यसमा कथा तीव्र गतिमा बग्छ । यो अहिलेको ट्रेन्ड रैछ भन्ने मलाई लाग्छ ।

नेपालको राष्ट्रिय धुन कम्पोज गर्ने भारतीय नेपाली हुन् । भारतीय राष्ट्रिय गीत कम्पोज गर्ने एक नेपाली हुन् । धेरैलाई यो कुरा थाहा नै छैन किनकि हामीले कलामा पनि राजनीति जोडेर हेर्छौं । यही समस्या हो । यस्ता कुरालाई मैले चलचित्रमार्फत जोड्न खोजेको छु ।

सेतो राम
एकपटक मैले धर्मराज थापालाई मन्त्रीसँग चिनजान गराइदिनुपर्ने भयो । म उनलाई लिएर मन्त्रीकहाँ पुगें । उनको नाम लिनासाथ मन्त्रीले धर्मराज थापाको ‘हरियो डाँडामाथि हलो जोत्ने साथी...’ भन्दै आफंै चिन्नुभयो । मैले चिनाइदिनै परेन ।

तर अचेल केही उरन्ठेउला गायकहरू यस्ता गीतलाई आफू चर्चित हुनका लागि तोडमोड गरेर आफ्नो भाकामा हाल्छन् । मूल सर्जकको भावनालाई नै मारिदिन्छन् उनीहरू । रिमिक्स गर्नु नै छ भने पनि मूल गायक तथा गीतकारको नाम उल्लेख गर्नुपर्छ । हामीले पुराना गायकलाई सम्मान गर्नैपर्छ ।

झण्डै १६ वर्षपछि मैले ‘दर्पण छायाँ’को सिक्वेल बनाएँ । कथानकको हिसाबले यसलाई सिक्वेल भन्न मिल्दैन तर यसमा मैले एउटा सिङ्गो युगलाई चलचित्रमार्फत देखाउन खोजेको छु ।

मैले बीचको समयमा केही चलचित्र बनाएँ । ती चलचित्रहरू व्यापारको हिसाबले सफल हुन सकेनन् । ‘दुई किनारा’ चलचित्र राम्रो बनेर पनि चलेन । चलचित्र राम्रो भएर पनि नचल्नुको कारण के होला भन्ने कुरालाई हामीले सोच्यौं । चलचित्र राम्रो बनाएर पनि फ्लप हुनुको कारण पब्लिसिटी नगरिनु पनि हो भन्ने लाग्छ ।

‘दर्पण छायाँ २’ मेरा लागि जिन्दगीकै एउटा टर्निङ प्वाइन्ट होे । केही फिल्म फ्लप भएपछि म जसरी पनि राम्रो चलचित्र बनाउनुपर्छ भन्ने दबाबमा थिएँ । चलचित्रको स्क्रिप्ट र कलाकार चयनमा पनि खुब ख्याल गर्नुप–यो ।
युग फेरिएको छ । नेपाली चलचित्र क्षेत्रले पनि संकटकाल गुजारेको छ । मैले आजसम्म निर्देशन गरेका २२ चलचित्रभन्दा अझ उत्कृष्ट बनाउन खोजेको छु । यसले मलाई २५ चलचित्र निर्देशन गर्ने लक्ष्यमा पु–याउनेछ भन्ने आशा लिएको छु ।

चलचित्रको कथा तयार भइसकेपछि नयाँ कलाकार खोज्न पनि उत्तिकै गाह्रो थियो । हामीले चलचित्रको कथा अनुसारका कलाकार छान्नुपर्ने थियो । उनीहरूको अभिनय र नेपाली चलचित्र क्षेत्रमा दिगोपनालाई बुझेर हामीले कलाकार चयन गर्‍यौं ।

म्युजिक भिडियोमा नै आफ्नो राम्रो प्रस्तुति दिएकाले पुष्प खड्कालाई मैले भेट्नका लागि बोलाएँ । तीन दिन त मैले कुरा मात्र गरेर फर्र्काएँ । उसको व्यवहार गज्जबको लाग्यो । त्यसपछि मैले आग्रह गरें ।

नायिका श्रद्धा प्रसाईंले प्रेम गीतमा गरेको अभिनय राम्रो थियो । यो चलचित्रका लागि सुहाउँदो कलाकार हुन सक्छिन् भन्ने लागेर मैले उनको परिवारलाई सोधें । उहाँहरूले खुशी भएर हुन्छ भन्नुभयो । कुनै बेला नेपाली कलाकारलाई चलचित्रमा अभिनय गर्न घरपरिवारबाट अनुमति नहुने स्थिति थियो ।

तर अहिले त्यस्तो छैन । कलाकारले साह्रै नै चित्तबुझ्दो अभिनय गरेका छन् । मैले यिनीहरुको भविष्य उज्ज्वल देखेको छु ।

salt training

कमेन्ट गर्नुहोस्