
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेंले उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिवार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सो अवसरमा नेता कवेंले भने, ‘कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद वा संघीय सांसदमा म उम्मेदवारी दिन्न । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगर प्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा ३ वटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।’
कार्यक्रममा कांग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३औं महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गरे । कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ, कांग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नम्बर २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्की लगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए ।
यसअघि कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।