
नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वउपमहासचिव घनश्याम भुसालले कार्यकर्तासँग भोट माग्न शुरू गरेका छन् । उनले उपाध्यक्षका लागि आफ्नो उमेर पनि पुगेको र योग्य रहेको भन्दै भोट मागेका हुन् ।
केपी ओलीले प्रस्ताव गरेको सूचीमा पदाधिकारीमा कतै नपरेका भुसालले सोमवार उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले ओली निकट मानिने अग्नि खरेलदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् ।
‘एमालेको उपाध्यक्ष बन्नका लागि उमेर पनि पुगेको छ र योग्यता पनि पुगेको छ । यहाँहरूले उचित मूल्यांकन गर्नुहुनेछ भन्ने आशा लिएको छु,’ भुसालले भने ।

महाधिवेशनस्थलमा लोकान्तरसँग कुरा गर्दै भुसालले बन्दसत्रका अध्यक्षले यसरी पदाधिकारी र केन्द्रीय सदस्यको सूची पढेर सुनाउने यो अन्तिम महाधिवेशन हुने बताए । ओलीको स्वेच्छाचारी कदमविरुद्ध आफूहरूले उम्मेदवारी दिएको उनले बताए ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा सोमवार राति मतदान हुनेछ । अध्यक्षका लागि केपी ओली र भीम रावलले उम्मेदवारी दिएका छन् ।
