२२ असार २०८३, सोमबार

छोरी मात्रै जन्माएर आमाबुवाले बन्ध्याकरण गरेमा नगद ५ हजार रुपैयाँ दिँदै गाउँपालिका

मंसिर १४, २०७८
छोरी मात्रै जन्माएर आमाबुवाले बन्ध्याकरण गरेमा नगद ५ हजार रुपैयाँ दिँदै गाउँपालिका

मोरङको कानेपोखरी गाउँपालिकाले छोरीहरू मात्रै जन्माएर बन्ध्याकरण गरेमा सम्मान गर्ने भएको छ ।

छोरी मात्रै जन्मेपछि बन्ध्याकरण गर्ने दम्पतीका लागि गाउँपालिका कार्यालयले नयाँ कार्यक्रम ल्याएको छ तर सम्मान पाउन त्यो दम्पतीले विवाह गर्दा दाइजो नलिएको हुनुपर्ने शर्त राखिएको छ ।

गाउँपालिका कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार विवाह दर्ताको प्रमाणपत्र, दाइजो नलिई विवाह गरेको स्वःघोषणासहित स्थलगत सर्जमिन मुचुल्का र वडा कार्यालयको सिफारिस अनिवार्य हुनुपर्ने जनाइएको छ ।

छोराछोरी समान हुन् भन्ने सन्देश दिनका लागि कार्यक्रम ल्याएको गाउँपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद फुयालले बताए । सम्मानस्वरूप छोरीहरूको नाममा बाल बचत खाता खोलेर ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने उनले बताए ।

डाक्टरले प्रमाणित गरेको बन्ध्याकरण गरेको रिपोर्ट र दाइजो नलिएको मुचुल्काका आधारमा वडा कार्यालयको सिफारिसमा सम्मानबापत नगद रकम दिने उनले बताए । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम लागू भएको छ । कार्यक्रमका लागि डेढ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

छोराको आशमा धेरै सन्तान जन्माउने र पालनपोषणदेखि शिक्षामा समेत कमी आएको पाएपछि चेतना फैलाउने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । महिला हिंसा न्यूनीकरणदेखि गरीबी न्यूनीकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ । 

२ नम्बर प्रदेश सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाइरहेका बेला कानेपोखरी भने नयाँ अभियान थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्