प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरू पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
मंगलवार सुवर्ण शमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लगाउन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताएका हुन् ।
विगतका दिनमा पार्टीभित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताएका हुन् ।
‘हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ,’ उनले भने, ‘अरूको पार्टीको चिन्ता उनीहरूलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऔं । उहाँहरूको भन्दा ठूलो पार्टी बनाऔं ।’
उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाशशरण महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे ।
‘अर्ती भनेको बुढापाकाहरूबाट सिक्नुपर्छ क्या । बुढापाकालाई अर्ती दिने होइन, अर्ती लिने गर्नुहोस् । त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला,’ उनले भने, ‘हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बीपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन पालो आउँछ । तपाईंको पालो आइहाल्छ हतार नगर्नुस् ।’