०३ असार २०८३, बुधबार

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

मंसिर १६, २०७८
खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

मंसिर २२ र २३ गते खोटाङ जिल्लाका १० वटै स्थानीय तहमा कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ ।  

अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) खोटाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियानमा छुटेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियान सम्पन्न भएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चौबिसै घण्टा खोप उपलब्ध गराउने तयारी गरेका छौं ।’

दिक्तेलमा उपलब्ध गराइने  खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी २ प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।

२ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा हालसम्म कोरोना विरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७७४ र दोस्रो मात्राको खोप ४० हजार ९७९ जनालाई उपलब्ध गराइएको डीसीसीएमसीका संयोजक दाहालले बताए ।

‘सरकारले हरेक नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेको छ,’ उनले भने, ‘बाँकी रहेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा डेस्क स्थापना गरेर क्रमशः उपलब्ध गराउने तयारी गरेका छौं ।’

विक्रम संवत् २०६८ सालको जनगणनाअनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा सबै नागरिकलाई पुग्ने खोप भने नरहेको जनाइएको छ । जिल्लाका लागि आवश्यक खोप उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्