
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो नेतृत्वमा नेताको मानमर्दन र कार्यकर्ताको विश्वासघात नहुने बताएका छन् ।
महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर सपथग्रहण गरेपछि आइतबार उक्त समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई अहिलेसम्मकै बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आफू दुई पटक मृत्युको मुखमा पुगेर बाँचेकाले नेताको सम्मान गर्ने र कार्यकर्ताको भावनामा चोट नपुर्याउने बताएका छन् ।
सम्बोधनको क्रममा उनले भने, ‘राजेन्द्र लिङ्देन पनि पार्टी चलाउन सक्छ र ? भन्ने आशंका छ । पार्टीमा म मात्रै कहाँ छु ? श्रद्धेय तीन नेताहरू हुनुहुन्छ । पदाधिकारीहरु हुनुहुन्छ । उहाँहरूको साथ लिएर पार्टी चलाउने हो ।’
उनले अगाडि भने, ‘हामी कहीँ पनि त्रुटी गर्दैनौं । म आत्मविश्वासी छु । गल्ती गर्दिन । धोका दिन्न । कसैलाई पनि रुवाउँदिन । यो मोरो पनि बदमास नै परेछ भन्ने ठाउँ दिन्नँ ।’
लिङ्देन एक पटक माओवादी कार्यकर्ताको कुटाइमा परेका थिए । निर्घात कुटिएपछि उनलाई मरणासन्न अवस्थामा छाडिएको थियो ।
दोस्रो पटक उनी कोरोना संक्रमणका कारण पनि लामो समय विरामी परेका थिए । उनले भने, ‘कोरोना महामारीका बेला एक रात मात्रै ढिलो अस्पताल पुगेको भए पनि म तपाईंहरुको माझ हुन्नथें ।’ आगामी दिनमा राप्रपालाई अग्रणी पार्टीकोरूपमा अगाडि बढाउन सक्दो प्रयास गर्ने उनले बताए ।