
संसदीय समितिले महिला हिंसाविरुद्धका कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा संघीय संसद प्रतिनिधिसभाअन्र्तगतको महिला तथा सामाजिक समितिले आइतवार काठमाडौंमा गरेको कार्यक्रममा समितिकी सभापति निरु देवी पालले महिला हिंसाविरुद्धका कानून पर्याप्त भए पनि कार्यान्वयन पक्ष चुस्त हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले प्रभावकारी ढंगले कानून कार्यान्वयन गर्न सके हिंसा न्यूनीकरणमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने बताइन् ।
उनले निर्णायक तहमा रहेका महिलाले पनि हिंसा व्यहोरिरहेको प्रसंग उल्लेख गर्दै कानून कार्यान्वयनका अप्ठ्यारा पक्षमाथि समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
प्रदेश १ की पूर्वमन्त्री उषाकला राईले महिला पुरुष समानताको लडाईं अहिले पनि लडिरहनुपरेको र त्यसकार्यमा सबैको सहयोग र साथ आवश्यक रहेको बताइन् ।