
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरूका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् ।
शुक्रवार नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक पार्टीहरूले एक्लै हिँड्ने अहंकार गर्नु नहुने बताए ।
देशको परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी लगायतका लोकतान्त्रिक पार्टीहरूका बीचमा गहिरो एकता हुन जरुरी रहेको उनले बताए ।
उनले हालसम्म प्राप्त गरेका राजनीतिक सफलता एकता र गठबन्धनको परिणामस्वरूप प्राप्त भएको उल्लेख गर्दै एक्लै हिँड्ने अहंकार गर्न खोज्दा एक्लै हिँड्न खोज्नेको ओरालो यात्रा शुरू हुने बताए । कांग्रेसले लोकतान्त्रिक राजनीतिक दलहरूको बीचमा समझदारी कायम गर्ने, सुशासन र विकासको युगतिर लैजाने सन्दर्भमा उचित नीति निर्धारण गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बीचमा गहिरो एकता हुन जरुरी छ । कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ । एक्लै हिँड्नुपर्छ हामीहरू भन्नुहुन्छ । होइन, हामी एक्लै हिँड्ने कुरा अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरेपनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजिराख्नै पर्ने हुन्छ र अहिले हामी जे सफलता भनेका छौं, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो । २०४६ सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता या ०६२/०६३ को सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरूको बीचमा भएको एकताको परिणाम हो । त्यसकारण एक्लै हिँड्ने अहंकार गर्न खोज्दा जसले अहंकार गर्यो त्यसको ओरालो यात्रा शुरू भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ । त्यसकारण म तपाईंहरूसँग यो ऐतिहासिक महाधिवेशनमार्फत् सिंगो राष्ट्रलाई एकताबद्ध गर्ने, मुख्यतः लोकतान्त्रिक राजनीतिक दलहरूको बिचमा समझदारी कायम गर्ने र देशलाई सुशासन र विकासको नयाँ युगतिर लैजाने कुरामा देशको ठुलो पार्टीको नाताले पनि नेपाली कांग्रेसले उचित नीति निर्धारण गरोस् । नेतृत्व निर्धारण गरोस् ।’