०३ असार २०८३, बुधबार

चीनले संसारभरि सैन्य अड्डा बनाइरहेको भन्दै अमेरिका चिन्तित

मंसिर २८, २०७८
चीनले संसारभरि सैन्य अड्डा बनाइरहेको भन्दै अमेरिका चिन्तित

चीनले संसारभरि सैन्य अड्डा बनाइरहेको वा त्यसका लागि कोशिश गरिरहेको अमेरिकाको रक्षा मन्त्रालयले दाबी गरेको छ । 

जलसेना, वायुसेना र स्थलसेनाको सहायताका लागि अतिरिक्त सुविधा पनि चीनले उपलब्ध गराइरहेको अमेरिकी रक्षा मन्त्रालयको भनाइ छ । 

चिनियाँ जनमुक्ति सेना संसारको सबभन्दा ठूलो सेना हो । त्यसमा लगभग २० लाख सैनिकहरू छन् । 

सी चिनपिङ सत्तामा आएदेखि चिनियाँ सेना थप आक्रामक भएको छ । उसको महत्त्वाकांक्षा पनि बढेको छ । 

इक्वेटोरियल गिनी र संयुक्त अरब अमिरातमा चीनले सैन्य अड्डा बनाउन खोजेको रिपोर्ट हालैका दिनमा आएको थियो । 

इक्वेटोरियल गिनीमा चीनले सैन्य अड्डा बनाएमा अमेरिकाको ईस्टर्न सीबोर्डलाई खतरा हुने अमेरिकाले बताएको थियो । अफ्रिका कमान्डका कमान्डर जनरल स्टिफन टाउनसेन्डले एटलान्टिक महासागरको तटमा चीनले जलसेनाका लागि अड्डा बनाउन लागेको बताए । 

यसअघि अमेरिकाबाट चेतावनी पाएपछि अबु धाबीबाट ८० किलोमिटर उत्तरमा रहेको खलीफा कार्गो बन्दरगाहमा चीनले निर्माण कार्य बन्द गरेको थियो । यूएईलाई खबर नगरिकन गोप्य तरिकाले चीनले सैन्य अड्डा बनाएको आरोप लागेको थियो । 

सन् २०१८ मा यूएई र चीनबीच कोस्को शिपिङ पोर्ट अबु धाबी टर्मिनललाई अप्ग्रेड गर्ने सम्झौता भएको थियो । यी बन्दरगाहहरू अल दफरा एयरबेस र जेबल अली दुवै नजिक छ । 

चीनले कम्बोडियामा पनि सैन्य अड्डा बनाउन लागेको बताइएको छ । हालै कम्बोडियाले रीम नेभल बेसमा अमेरिकाले बनाएको दुई भवन ध्वस्त पारेको थियो । पछि कम्बोडियाका रक्षामन्त्रीले यसको पुष्टि गर्दै चीनले आधारभूत संरचनाको विस्तारमा सहयोग गरिरहेको बताए । 

द वा स्ट्रीट जर्नलले समाचारमा चीनलाई जलसैन्य सुविधा उपलब्ध गराउन कम्बोडियाले ३० वर्षको सहमति गरेको उल्लेख गरेको थियो । तर कम्बोडिया सरकारले त्यसको खण्डन गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्