चिनियाँ जनमुक्ति सेनाको संयुक्त ब्रिगेडले आणविक, रासायनिक र जैविक आक्रमणविरुद्धको युद्ध अभ्यास हालैका दिनमा पूरा गरेको छ ।
उक्त अभ्यासमा कमान्डो, सशस्त्र आक्रमण समूह तथा रासायनिक युद्धका लागि तालिमप्राप्त सैनिकहरू सहभागी बनेका थिए । उनीहरूलाई सेनाका विभिन्न शाखाबाट ल्याइएको थियो ।
वेस्टर्न थिएटर कमान्ड अन्तर्गत तिब्बत सैन्य क्षेत्रले यो युद्धाभ्यास आयोजना गरेको थियो । उक्त कमान्ड भारतसँगको विवादित सीमाको रक्षाका लागि जिम्मेवार छ ।
पूरै २४ घन्टा चलेको अभ्यास नोभेम्बर महिनाको अन्त्यतिर गरिएको थियो । त्यसको जानकारी चिनियाँ सेनाको आधिकारिक न्युज पोर्टलमा मंगलवार प्रकाशित भएको थियो ।
चिनियाँ सशस्त्र बल र गैरपरम्परागत हतियार सहितको अभ्यासलाई चीनको आधिकारिक सैन्य सञ्चारमाध्यमले विरलै उल्लेख गर्ने गर्छ ।
उक्त लेखमा अभ्यासको प्रकृतिको बारेमा सानो वर्णन गरिएको थियो तर अभ्यास कहाँ गरिएको भनी स्पष्टसँग लेखिएको थिएन ।
आणविक, जैविक र रासायनिक आक्रमण भएपछि ग्यास मास्क लगाएर विषाक्त क्षेत्रबाट छिट्टै गुज्रिने अभ्यास सैनिकहरूले गरेका थिए । त्यसपछि उनीहरूले कमान्ड पोस्टलाई परिस्थितिको रिपोर्ट दिएका थिए अनि केमिकल डिफेन्स डिट्याचमेन्टलाई डिकन्टामिनेसनमा सहयोग गर्न अनुरोध गरेका थिए ।