११ साउन २०८३, सोमबार

सहमति भएको साढे ८ महिनापछि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जरको गाँठो फुक्यो

सहमति भएको साढे ८ महिनापछि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जरको गाँठो फुक्यो
फाइल तस्वीर।

मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ ।

आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले लोकान्तरलाई जानकारी दिए ।

सञ्चालक समितिको बैठकमा इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि सर्वसम्मतिले निर्णय दिएको हो । 

गत वैशाख ३० गते दुई बैंकबीच मर्जरको सहमति भएको थियो ।

मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी सहमति भएको झण्डै ९ महिनापछि हिमालयन बैंकले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । 

मर्ज गर्नका लागि दुई बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको थियो, तर हिमालयनको तर्फबाट मर्जर प्रक्रिया रोकिएको थियो । 

मर्जर प्रक्रिया रोकिएपछि राष्ट्र बैंकले दुई पटकसम्म समयसीमा थप गरेको थियो । 

मर्जर प्रक्रिया अवरुद्ध भएपछि राष्ट्र बैंकले हिमालयन बैंकको नगद लाभांश नै रोकिदिएको थियो । 

मर्जरमा जाने औपचारिक निर्णय गरेसँगै अब बैंकले आगामी शुक्रवारसम्म २१ दिनको समय राखेर साधारण सभाका लागि सार्वजनिक सूचना निकाल्ने छ ।

साधारण सभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने हुनेछ । 

यता इन्भेस्टमेन्ट बैंकले साधारण सभा सकिसकेको छ । उसले साधारण सभामा मर्जरको एजेण्डा राखेको थिएन । अब उसले विशेष साधारण सभा डाक्नुपर्ने हुन्छ । 

साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेपछि दुवै बैंक अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जानेछन् । 

मर्जरपछि बैंकको अध्यक्ष इन्भेस्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुनेछन् । 

मर्जरपछिको बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा ठूलो हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्