
नेकपा माओवादी केन्द्र नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि चुनावमा जान हिच्किचाएको छ । आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि माओवादीले सहमतिमै जोडबल गरेको हो । त्यसका लागि माओवादीले शनिबार दिनभर आन्तरिक छलफल गर्यो भने आइतबार दिउँसोसम्म यसमै होमवर्क गरेर बन्दसत्रमा केन्द्रीय कमिटी घोषणा गर्नेगरी गृहकार्य भइरहेको एक नेताले बताए ।
शनिबारको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहमतिका लागि आइतवारसम्मका समय दिन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका थिए । निर्वाचनमा जाँदा सबै खाले मनोविज्ञानलाई समेट्न नसकिने भएकाले सकेसम्म सहमतिमै केन्द्रीय सदस्य चयन गरिनुपर्ने प्रचण्डको भनाइ थियो ।
उनले शनिवार राति चिसोमा बसेर निर्वाचनमा सहभागी हुनुभन्दा आइतवारसम्म सहमतिमै नेतृत्व चयन गर्नु उपयुक्त हुने बताएको बन्दसत्रका एक प्रतिनिधिले जानकारी दिए । त्यसपछि बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
माओवादीमा केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन् । सोही कारण सहमति जुटाउन सकस भइरहेको छ ।
माओवादीले सहमतिको प्रयास गरेपनि सँगसँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । तर, जोडबल सहमतितिरे भएको र सहमति भएको खण्डमा निर्वाचन कार्यक्रम स्वतः रद्द हुनेछ ।
शनिबार बन्दसत्र स्थगित भएसँगै संशोधन गरेर सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आइतबार दिउँसो २ देखि साढे ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै साढे ३ बजेसम्म उम्मेदवारको दर्ता सूची प्रकाशित गरिनेछ भने४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन समय तोकिएको छ ।
यस्तै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ४ बजेर १० मिनेटमा दिइने भने त्यसमाथि छानबिन र निर्णय साढे ४ भित्र हुनेछ । यस्तै उम्मेदवारको नामावली पुनः प्रकाशन ४ बजेर ४० मिनेटसम्म् र उम्मेदवारको नाम फिर्ता लिने समय साढे ५ सम्म दिइएको छ । उम्मेदवारको अन्तिम नामावली पौने ६ बजे प्रकाशित गरेर मतदान साँझ ६ बजेर २५ मिनेटदेखि राति १०ः२५ सम्म जारी रहने भनिएको छ ।
००००
यसैबीच माओवादी केन्द्रको बन्दसत्रबाट विधान संशोधन प्रस्ताव पनि पारित भएको छ । बन्दसत्रमा प्रतिवेदनमाथि उठेका प्रश्नबारे स्थायी समिति सदस्य देव गुरुङले जवाफ दिएसँगै प्रस्ताव पारित भएको थियो । नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ । माओवादीभित्र केन्द्रीय समितिसहित नेतृत्व र पदाधिकारी पनि हलबाटै घोषणा गर्नेबारे छलफल भइरहेको छ ।
माओवादीमा अध्यक्षमा प्रचण्ड नै चयन हुने पक्कापक्की छ । पदाधिकारीलगायतका केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएकाले सुची तय गर्न सकस परेको हो। विशेषगरी महासचिवमा बढी रस्साकस्सी छ। महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच बढी रस्साकस्सी छ ।
००००
गत आइतबार उद्घाटन गरिएको माओवादीको आठौँ महाधिवेशनमा सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता गुरुङले विधान प्रस्तुत गरेका थिए । मङ्गलबार र बुधबार अपराह्नसम्म समूहगत छलफल चलाइएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह बनाइएको थियो । बुधबार र बिहीबार समूहगत छलफलका क्रममा उठेका विषयवस्तुमाथि टोली नेताले धारणा राखेका थिए । एक जनाका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलका क्रममा उठेका जिज्ञासालाई सम्बोधन गरेका थिए। माओवादीको महाधिवेशन पुस ११ देखि सुरु भएको थियो । आइतबार नेतृत्व चयन प्रक्रिया सकिए महाधिवेशन पनि सकिनेछ ।
००००
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कुन क्लस्टरबाट कति जना सदस्य निर्वाचित हुने टुंगो लागेको छ ।
माओवादी केन्द्रको निर्वाचन आयोगले सूचना प्रकाशन गरेर कुन क्लस्टरमा कति जना सदस्य निर्वाचित हुने भन्ने जानकारी गराएको हो । जसअनुसार खुलातर्फबाट १४५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
समानुपातिकतर्फ खसआर्यबाट ४५ जना, दलितबाट २२ जना, मुस्लिमतर्फ ७ जना, मधेशीतर्फ २३ जना, आदिवासी जनजातितर्फ ४३ जना, थारुतर्फ १० जना, अपाङ्गतातर्फ २ जना र पिछडिएको क्षेत्रबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने बताइएको छ । अपाङ्गता र पिछडिएको क्षेत्रबाहेक सबैमा पुरूष र महिलाको संख्याबाहेक पुरुष युवा र महिला युवाको संख्या पनि निर्धारण गरिएको छ ।
माओवादीको महाधिवेशनसम्बन्धी समाचारपछि लोकान्तर राउण्ड अपमा अन्य समाचार संक्षेपमा–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न नपाएका १० जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायणबहादुर खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’
००००
राप्रपा नेता कमल थापाले ४ जिल्लास्तरीय नेतालाई पार्टीले गरेको कारबाहीको विरोध गरेका छन् । उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रे अध्यक्षसहितका नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् ।
००००
नवौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शनिबार नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस मनाइएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।
००००
पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय थप २५२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।