
नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र नीलो प्लेट नम्बरको सवारीसााधन भए केही सहज हुने भन्दै उनीहरुले सो माग गरेका हुन् ।
पोल्याण्डका लागि अवैतनिक राजदूत लोकमान्य गोल्छाले कुनै एक व्यक्तिको भुलका कारण अन्य अवैतनिक राजदूतहरुलाई कारबाही गर्न उचित नहुने भन्दै अवैतनिक राजदूतहरुलाई नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन माग गरे।
उनले सरकारले अवैतनिक राजदूतहरुलाई उपलब्ध गराएको नीलो प्लेट नम्बरको सवारीसाधन नदिने सरकारको निर्णय व्यवहारिक नभएको गुनासो गरे। राजदूत गोल्छाले सरकारले सुधारका कुराहरुमा हरेक निर्णयमा ढिलासुस्ति गरिरहेकोले पनि कतिपय ठाउँमा समस्या भइरहेको र चार्टड फ्लाइटहरुको लागि पनि राजदूतावासकै अनुमति चाहिने भएकोले त्यसको ठाउँमा सल्लाहकारको अनुमति दिने व्यवस्था गरे काममा सहयोग पुग्ने बताए ।
राजदूत गोल्छाले भने, ‘मेन्ली हामी यस्तो विपद्हरु आएको बेलामा सरकारले गरेको कामको प्रशंसा म गर्छु । धेरै सहयोग हुन्छ । त्यसलाई इम्प्रुभ गर्ने कुरामा हरेक डिसिजन डिले हुने हुन्छ । त्यो अलिकति फास्ट हुने भएदेखि हामीलाई पनि सजिलो हुन्छ । अर्को चार्टड फ्लाइटहरुको लागि त्यो एम्बेसीकै रिकुमेण्डेशन चाहिन्छ । त्यो नभएर कन्सुलहरुको पनि रिकुमेण्डेशनले पनि त्यो काम अलिकति फास्ट हुनसक्छ र मानिसहरुलाई फिर्ता पठाउन पनि सकिन्छ । त्यसले अलिकति सजिलो हुन्छ । अर्को ब्लू नम्बर प्लेट प्रयोग गरिहरेका थियौँ । त्यो कुनै कारणवश कुनै एक जनाको भुल भयो कि, गल्ती भयो कि, त्रुटी भयो कि जे भए पनि त्यसले सबैलाई कारबाही गर्ने अलिकति व्यवहारिक भएन कि जस्तो हाम्रो बुझाइ । सरकारको आफ्नो बुझाइ होला त्यो बेग्लै कुरा हो । तर हाम्रो बुझाइमा मैले केही बद्मासी गरेँ भने मलाई सोध्नुपर्छ, मलाई बोलाएर पनिस्मेण्ट गर्नुपर्यो वा त्यसको कैफीयत लिनुपर्छ । त्यो आफ्नो ठाउँमा छ । तर मेरो कारणले सबैलाई दिनु राम्रो भएन । त्यस कारणले हाम्रो अनुरोध छ, यो फेरि होस् । शंकटको बेलामा जान आउन गर्न अलि सजिलो हुन्छ हामीलाई ।’
त्यस्तै माल्टाका लागि नेपाली अवैतनिक राजदूत दिनेश श्रेष्ठले नागरिक समाज वा कुनै एउटा समूहले इष्र्या गरेर अवैतनिक राजदूतलाई सरकारले दिइरहेको नीले प्लेटको सवारीसाधनको सुविधा हटाउन नमिल्ने बताए । उनले आफूहरुले राज्यको हीत र इज्जतका लागि नै कम गरेकोले उक्त सुविधा खोस्न नमिल्ने बताए । सो सुविधाले अन्य देशका राजदूतहरु आउँदा र सरकारले बोलाउँदा नीलो प्लेटको सवारी प्रयोग गरिरहेको प्रष्ट पारे। राजदूत श्रेष्ठले यस विषयमा आफूहरुले परराष्ट्र मन्त्रालयलाई पुनः विचारका लागि पहल गरिरहेको र यस विषयमा मन्त्रालय पनि सकारात्मक देखिएकोले यसको छिनोफानो चाँडै टुंगिने बताए ।