३० असार २०८३, मंगलबार

कोरोना संक्रमण बढ्यो, काठमाडौं उपत्यकामा कडाइ

पुस २८, २०७८
कोरोना संक्रमण बढ्यो, काठमाडौं उपत्यकामा कडाइ

कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न बन्देज लगाएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमणको गति बढ्दै गएको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुनेगरी कार्यक्रम नगर्ने नगराउने’ भनिएको छ । तर, नियमित रूपमा आवश्यक कार्यक्रम गर्नैपर्ने भएमा भने प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने आदेशमा उल्लेख छ ।

यसैगरी, २५ जना बढी व्यक्ति भेला हुनेगरी कुनै पनि मेला महोत्सव तथा समाजिकलगायतका कार्य नगर्न पनि आदेशमा भनिएको छ ।

यसैगरी, घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यस्तै, १५ माघसम्म शैक्षिक संस्थाहरू भौतिक रूपमा उपस्थित भएर सञ्चालन गर्न रोक लगाइएको छ । तर, पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइ परीक्षा सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

यसैगरी ७ माघदेखि कार्यालय, होटल-रेस्टुरेन्ट, सिनेमा हल, पार्कलगायतमा प्रवेश गर्नेहरूलाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।

यस्तै, सबै सरकारी कार्यालयमा ७ माघबाट नै सेवा प्राप्त गर्न खोप कार्य अनिवार्य गरिएको छ । खोप लगाएको कार्डको फोटोको प्रमाण मोबाइलबाटसमेत देखाउन सकिने आदेशमा उल्लेख छ ।

जारी आदेशमा जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई एक साताभित्र कोभिडविरुद्धको खोप लगाउने’bout तालिका बनाउने उल्लेख छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन टेस्ट बुथ स्थापना गरी नियमित परिक्षण गराउने भनिएको छ ।

यसैगरी, पहिले सञ्चालन गरिएका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन सेन्टरहरूलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा भनिएको छ भने अक्सिजनको आपूर्ति सहज बनाउन पहिले प्रयोग गरिएका सिलिन्डर यथाशीघ्र सम्बन्धित अस्पताल, उद्योग अथवा स्थानीय तहमा हस्तान्तरण गर्न भनिएको छ ।

यस्तै, सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सवारीसाधनमा सबै यात्रुलाई मास्क अनिवार्य गर्न, सवारीसाधनमा स्वास्थ्य मापदण्ड पालना गर्न गराउन तथा सवारी चालक र सहचालकले पनि मास्क, भाइजर, पन्जा लगाउन आदेशमार्फत अनिवार्य गरिएको छ ।

यसैगरी, व्यापार व्यवसाय र उद्योगधन्दा सञ्चालन गर्दासमेत स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन भनिएको छ  । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्