
गुण एयरलाइन्सको जहाज ढोकै नलगाई उडेको सम्बन्धमा आवश्यक छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ ।
२ माघमा काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको घटनाको छानबिन गरी सत्यतथ्य पेश गर्न मन्त्रालयले मंगलवार चार सदस्यीय छानबिन समिति बनाएको छ । उक्त जहाज उडेको सात मिनेटमै पुनः त्रिभुवन विमानस्थलमै फर्किएको थियो ।
छानबिन समितिले उक्त घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित ३ दिनभित्र प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।
सोमवार बसेको पर्यटन सचिवस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा उक्त छानबिन समिति गठन गरेको हो । छानबिन समिति सदस्यमा पर्यटन मन्त्रालयका इलेक्टेनिक इन्जिनियर नसिब आचार्य र उड्डयन प्राधिकरणका क्याविन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई छन् ।
छानबिन समितिको सदस्य सचिवमा उड्डयन प्राधिकरणकै एरोनटिकल इन्जिनियर रितेशराज पन्त रहेको पनि पर्यटन मन्त्रालयले मंगलवार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।