
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कूलबहादुर थापालाई राखेपका सदस्य सचिवको अनुपस्थितिमा सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ ।
‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१०/२४ को निर्णयानुसार राखेपको सदस्य सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय भए बमोजिम राखेपका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईंलाई दिएको छु,’ राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
थापासँग राखेप मातहतका विभिन्न विभाग र शाखामा प्रमुख भई काम गरेको अनुभव छ । यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा रहिसकेका छन् ।
थापाले प्रचारप्रसार शाखा, कर्मचारी प्रशासन शाखा लगायतमा प्रमुख भई काम गरिसकेका छन् ।
समारोह विज्ञका रूपमा परिचित थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गरेका छन् । नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
थापाले बिहीवार पद बहाली गर्ने छन् ।