
‘लोकान्तर राउण्ड अप’मा पाठकबृन्दलाई स्वागत छ । बितेको २४ घण्टाका मुख्यमुख्य समाचारलाई सधैँझै हामीले लिएर आएका छौँ । सुरु गरौँ, एमाले अध्यक्ष केपी ओलीको कवि गोष्ठी कार्यक्रममा सहभागीताको प्रसंगबाट । सोमबारको सो कार्यक्रमलाई सम्बोधन गर्दै ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिए । उनले प्रचण्ड मूर्तिझैँ बसेर अरूलाई एमसीसीको विरोधमा उतारेको टिप्पणी गर्दै आक्रोश पोखे ।
चन्द्रागिरि नगरपालिकास्थित कालु पाँडेको समाधिस्थलमा आयोजित सो कवि गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारमा बस्ने तमासा गर्ने, एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबुल गर्ने षड्यन्त्र गर्ने आएर आफू चुप लागेर मूर्तिझैँ बस्ने, पछाडिकोलाई नारा लगाउ नारा लगाउ भन्ने । यताकालाई उठ भन्ने उताकालाई बस भन्ने ।’
ओलीले अगाडि भने, ‘सरकार, सडक र सदनमा आफैँ हुने, एमसीसी आफैँ सही गर्ने, आफैँ टेबल गर्ने, सही गर्ने टेबल गर्नेहरूलाई सडकमा उत्रिएकाहरूले कतै केही भनेको सुन्नुभएको छ ? केही भन्दैनन् ।’
यसैबीच ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । सोमबार सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो ।
००००
एमसीसीबारे जारी विवादकै बीच नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले संसदमा दर्ता भएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘एमसीसीको विपक्षमा उभिन्छौं र विपक्षमा मतदान गर्ने वातावरण बनाउन लाग्छौं ।’
एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धन रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले भने, ‘यस बारेमा गठबन्धनको बैठकमा छलफल होला । एमसीसी पास गर्नको लागि सरकारमा गएका होइनौं । सरकारमा बस्ने बाहिरिने कुरा समयले निर्धारण गर्ला ।’ पार्टी भित्रको व्यवस्थापकीय कुराले पार्टीको एकता नतोडिने उनले बताए ।
००००
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन नतोडिने बताएका छन् । काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्ता पछि प्रचण्डले यस्तो जिकिर गरेका हुन् । प्रचण्डले एमसीसी टेबल भएपछि पार्टीले पास गर्न नसघाउने बताउँदै आएका छन् । एमसीसीकै विषयमा प्रचण्डको पार्टीभित्र पनि विवाद छ ।
००००
यसैगरी प्रचण्डले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीमा आन्तरिक सर्कुलर पठाएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्मको लागि निर्वाचनको तयारी गर्न भन्दै प्रचण्डले सर्कुलर पठाएका हुन् ।
संगठन सुदृढीकरण तथा विस्तार र निर्वाचन तयारीमा केन्द्रित हुन प्रचण्डले सर्कुलरमा निर्देशन दिएका छन् ।
००००
जसपाको कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ । जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसद्मा टेबल भएको एमसीसीलगायत विषयमा छलफल हुने जनाइएको छ । जसपाभित्र एमसीसीबारे पक्ष र विपक्षमा विचार आइरहेका छन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको समर्थन जनाएका छन् भने अध्यक्ष उपेन्द्र यादव खुलेका छैनन् ।
००००
बैतडीको पाटनमा सोमबार भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीनको घटनास्थलमा ज्यान गएको हो ।
००००
ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो ।
००००
स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् ।
नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित आयोगमा हालसम्म दर्ता भएका राजनीतिक दलको संख्या १०९ पुगेको छ ।
००००
आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपाल समूह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो ।
००००
महानगरीय प्रहरी अपराध महाशाखाले ठूलो परिमाणमा अखाद्य बिस्कुट बरामद गरेको छ । ललितपुरको सुनाकोठीबाट स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीले बिक्री गर्ने गरेको बिस्कुट बरामद गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
००००
पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८१५ नमूना परीक्षणमध्ये २४७ पीसीआर र १४१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट चार जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९२५ छ ।
००००
चैत १९ गते हुने नेपाल बार एशोसियसनको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले सोमवार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन, दाबी विरोध १३ गते, दाबीविरोधमा जाँचबुझ १९ गते र मतदाताको अन्तिम नामावली प्रकाशन २० गते गरिनेछ ।
यस्तै फागुन २३ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ ।
दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ । मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।