
नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ६२ लाख आठ हजार जरिवाना ठहर गरेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७८ कात्तिक २९ गतेको फैसलाअनुसार १० दिन कैद र बिगोबमोजिम रु ६२ लाख आठ हजार जरिवाना ठहर भई फरार रहेका तारकेश्वर नगरपालिका–२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई आज पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर विसं २०७६ र २०७७ मा नेपाल बैंक लिमिटेड न्यूरोड शाखाको दुईवटा चेक दिएर बैंकिङ कसुर गरेकाले अधिकारीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका अधिकारीलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीको भनाइ छ ।