२० असार २०८३, शनिबार

तस्वीरमा सेना दिवस

फागुन १७, २०७८
तस्वीरमा सेना दिवस
सबै तस्वीरः नेपाली सेना ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर सेना दिवस मनाएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरू प्रस्तुत गरेको थियो । 

शिवरात्री एवं सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो । 

दिवसका अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण तथा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो । 

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्रि तथा सेना दिवस -२०७८’ तथा "आर्मी डे" लेखिएको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिए पश्चात आर्मी चिह्न र स्वस्तिक चिन्ह आकृति निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रिको बढाइँ गरिएको थियो । 

विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्‍चार तथा हवाई सुरक्षासम्बन्धी विभिन्‍न हात/हतियार, भेहिकल तथा उपकरणहरूको प्रदर्शन, मार्चपास्ट, विशेष फौज बाहिनीबाट फ्रि-फल जम्पलगायत विभिन्न संस्कृति झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाको ब्यान्डर बेलायतको ब्यान्ड अफ दी ब्रिगेड गोर्खाजबाट व्याण्ड प्रदर्शन समेत गरिएको थियो । 

समारोहमा राष्ट्रपति भण्डारीले "सिपाही बार्षिक-२०७८" तथा "ग्लोरिस पास्ट अफ नेपाल आर्मी" नामक पुस्तकको विमोचन गरेकी थिइन् । साथै फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरूलाई पुरस्कारसमेत वितरण गरेकी थिइन् । 

दिवसका अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरू ४ जना र गैह्रसैनिक ४३ जना गरी ७१५ जनाले प्रधानसेनापति प्रशंसा निशान प्राप्त गरेका थिए । प्रधान सेनापति महारथी प्रभुराम शर्माले उनीहरूलाई दर्ज्यानी चिह्न, ट्रफी तथा पुरस्कारहरुसमेत वितरण गरेका थिए । 

२०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्