
समुद्रपारबाट नेपालका लागि आएका कन्टेनर भारतीय बन्दरगाहमा थुप्रिन थालेपछि निजी रेल सेवा प्रदायकमाथि रेल रेक बढाउने दबाब बढेको छ । नेपालका लागि रेलमार्फत कन्टेनर ढुवानीमा भारतीय निजी कम्पनीको प्रवेशसँगै सरकारी स्वामित्वको भारतीय कन्टेनर निगम (कोन्कर)ले रेक कटौती गरेपछि अन्य कम्पनीलाई यस्तो दबाब बढेको हो ।
केही दिनअघि भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी)ले भारतीय बन्दरगाहबाट नेपालका लागि कन्टेनर ढुवानीमा आबद्ध सेवा प्रदायकलाई रेक संख्या थप्न निर्देशन दिएको थियो ।
बोर्डले कोन्कर, प्रिस्टाइन मेगा लजिष्टिक पार्क र इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्ट्रक्चरलाई चाहिनेजति रेक उपलब्ध गराउन भनेको हो । पूर्वाधारका हिसाबले कोन्करको तुलनामा कमजोर मानिएका निजी सेवा प्रदायक रेक बढाउने प्रयासमा तल्लीन देखिएका छन् । कोन्करले यसअघिको तुलनामा रेक आधाभन्दा पनि कम गरेपछि आफूहरू रेक संख्या बढाउन लागिपरेको प्रिस्टाइन भ्याली ड्राइपोर्टका कार्यकारी निर्देशक बी मोहनले बताए । मार्च महीनाभित्र नेपालका लागि कन्टेनर ढुवानीका आवश्यक संख्यामा रेक थप्ने दाबी मोहनले गरे ।
प्रिस्टाइन भ्याली वीरगञ्ज सुक्खा बन्दरगाहको सञ्चालक कम्पनी पनि हो । प्रिस्टाइन मेगा लजिष्टिक पार्क प्रिस्टाइन भ्यालीको मुख्य साझेदार हो । सुक्खा बन्दरगाहमा रेल सेवा सञ्चालन गरेर नाफा कमाउने योजनाअनुसार प्रिस्टाइनले विगतभन्दा दोब्बर रकममा बन्दरगाह सञ्चालनको ठेक्का सकारेको थियो । अन्य निजी सेवा प्रदायकले पनि रेक बढाउने तयारी गरेको मोहनले जानकारी दिए । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खबर लेखेका छन् ।