
देशका विभिन्न ठाउँबाट प्रहरीले ५४ जुवाडेलाई नगद सहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३३० रूपैयाँ र ८ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भएका ५२ वर्षीय गोपालबहादुर कुँवर लगायत ११ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त लजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार ३०५ रूपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५०० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।