
हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन् ।
ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् ।
पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहँुदा घरमै रोग पालिरहेकी छन् । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आएकी छन् ।
गत जेठमा ५० हजार रुपैयाँमा भैंसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुगिन् । अस्पतालले पाठेघरमा संक्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो ।
१४ दिन अस्पताल बसेर धामीले उपचार गरेकी थिइन् । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका पति दलसुर धामीले बताए ।
मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले भने, ‘होइजालीले औषधि खाएर सक्नुभएको छ तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै बसिरहनुभएको छ ।’
आर्थिक रूपमा निकै कमजोर रहेको उनको परिवारलाई उपचारका लागि नेपालगञ्जसम्म जाने भाडा समेत नभएको गुनासो रहेको इन्चार्ज ढकालले बताए । तल्लो पेट दुख्ने, रगत, पिप बग्ने, शरीर दुख्नेजस्ता समस्या भइरहेको होइजालीले बताइन् ।