०२ असार २०८३, मंगलबार

स्थानीय तह निर्वाचन : २७ करोडका सामग्री विदेशबाट ल्याइँदै

चैत ६, २०७८
स्थानीय तह निर्वाचन : २७ करोडका सामग्री विदेशबाट ल्याइँदै

 स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ ।

निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिए।

स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् । नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने  १५  प्रकारका  सामग्री  खरिद  व्यवस्थापन  गर्न  निर्वाचन  आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ ।

मतपेटिका भने आयोगसँग मौज्दात नै छ ।  

उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग  करिब  ६५  हजार  मतपेटिका  मौज्दात  रहेको  जानकारी दिए ।

तर,  मतपत्रको  ढाँचा  विगतभन्दा  ठूलो  भए  मौज्दात  मतपेटिकामा अटाउन समस्या हुने उनले बताए ।

आयात गर्नुपर्ने  कारणबारे  खुलाउँदै  प्रवक्ता  पौडेलले  भने,  “नेपालमा  उत्पादन  नहुने  र  बढी  मात्रामा  आवश्यक  पर्ने  सामग्री  खरिद  गर्न  आपूर्तिकर्तासँग  सम्झौता  गरिएको हो ।”

निर्वाचनबाहेक अन्य  काममा  प्रयोग  नहुने  हुँदा ती सामग्रीको उत्पादन नेपालमा हुँदैन ।

निर्वाचन  प्रयोजनका  लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् ।

आयोगको  जिन्सी  शाखाका  अनुसार  स्थानीय  निर्वाचनमा  छेकबारा  ७८  हजार  थान,  स्टाम्प  प्याड  दुुई  लाख  चार  हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुुई लाख आठ हजार थान आवश्यक पर्नेछ ।

त्यसैगरी, ५२ हजार प्याकेट पित्तलको छाप र २६ हजार पित्तलको लाहा तथा चार लाख ८० हजार 'सेक्युरिटी सिल’ निर्वाचनका लागि आयोगले आपूर्ति गर्न सम्झौता गर्दै छ ।

एक प्याकेट लाहामा तीन थान हुनेछ । आयोगले आयात गर्नुपर्ने २३ प्रकारका सामग्री खरिद गर्न १० वटा प्याकेजमा प्रस्ताव आह्वान गरेको थियो ।

सबै सामग्री खरिद गर्न २७ करोड १९ लाख ५२ हजार ८०६ रुपियाँ खर्च हुनेछ ।  आयात गरिने २३ सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिने पर्दा र छेकबारामा मात्रै १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्