
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ ।
गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।
गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
२७ बाणिज्य बैंकहरूमध्ये १७ वटा बाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ ।
बाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले बाणिज्य बैँकहरूसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।
फागुन महिनामा मात्रै बाणिज्य बैंकहरूको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरूको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।
नेपालभर २१३ शाखाहरू, १४७ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको छ ।