
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ । प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो ।
तीनवटा खोला मिसिएर बनेको उक्त झरना अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन । मनमोहक झरनाको अवलोकन गर्न न्यून सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । बिजौरीबाट करिब आठ किलोमिटर उत्तरमा रहेको उक्त झरनालाई पर्यटकीय गन्तव्य बनाउन ठोस कदम चाल्नुपर्ने स्थानीय प्रविर पुनले बताए ।
झरनामा खानीखोला, राजा पँधेरो र तिनुखोलाको पानी मिसिएको छ । झरनाको सिरानमा दुईवटा ताल छन् । तीमध्ये एउटालाई ‘ताउले’ र अर्कोलाई ‘घैटे’ ताल नामकरण गरिएको छ । एउटाको आकार ताउलोजस्तो तथा अर्को घैटोजस्तो छ । तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगीले झरनाको प्रचारप्रसारका लागि काम अघि बढाइएको बताए ।