२३ जेठ २०८३, शनिबार

आज नयाँदिल्लीबाट नेपाली रेल सेवा उद्घाटन गरिँदै, भोलिदेखि नियमित सञ्चालन

आज नयाँदिल्लीबाट नेपाली रेल सेवा उद्घाटन गरिँदै, भोलिदेखि नियमित सञ्चालन

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रूपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँदिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ । 

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा २ सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो ।

पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरू भएसँगै नेपालको रेल यातायात तर्फको अर्को यात्रा शुरू हुनेछ । 

शनिवार रेल गाडीमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रूपमा सञ्चालन हुने रेलमार्गमा जनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव लगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ ।

उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछिन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए । उनले भने, ‘रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ ।’

शनिवार उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको २ पटक आउने र २ पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काै रेल छुट्ने उनले जानकारी दिए । उनले भने, ‘आइतवारबाट नै नियमित रूपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।’

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा सञ्चालनका लागि सरकारले २ सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो । एउटा रेलमा १ हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए ।

यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउने छन् । तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन् । अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण २ वर्ष पहिले नै सकिएको थियो । 

हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किलोमिटरमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको २–४ महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिए । ३५ किलोमिटरमा ८ ठाउँमा रेल रोक्न सकिने छ ।

नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने प्रवक्ता चित्रकारले बताए । यसले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेसनबाट ४–५ किलोमिटरमा अर्काे स्टेसन आउँछ । यसको डिजाइन स्पीड यात्रुबाहक गाडीमा १०० किलोमिटर प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए ।

उनले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।’ डेढ वर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानूनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो । 

भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो । २ सरकारबीच सम्झौता भई (जीटुजी) रेल खरिद भएको हो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिक लगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनीयर रहेको महाप्रबन्धक झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसिका लागि भने त्यसको ५ गुणा अर्थात ४५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ । 

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी थिइन् । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले  पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको थियो । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्ष पछिदेखि काम शुरू भएको थियो । भारत सरकारसँग सीमा क्षेत्रमा ५ स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु ३ स्थानमा निर्माणको काम शुरू हुन सकेको छैन । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु ३ रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् । 

विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो । सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विक्रम संवत् १९९४ सालतिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । विक्रम संवत् २०७० सालदेखि रेलमार्ग सञ्चालन हुनसकेको थिएन । रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो । 

जयनगर–कुर्था–बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत ५ अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य १ अर्ब रहेको छ । विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ । – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्