
काठमाडौं, २२ मंसिर — भारतको झारखण्डस्थित पंडारा भन्ने ठाउँमा गौरीशंकर शर्मा नामक व्यक्ति कल फ्रडको शिकार भएका छन् । शर्मालाई १० दिनअघि एक अपरिचित नम्बरबाट कल आएको थियो ।

फोन गर्ने व्यक्तिले आफू सामसङ कम्पनीको प्रतिनिधि भएको बतायो । उसले भन्यो, ‘देशभरिबाट दशवटा लक्की नम्बरमध्ये तपाईंको पनि प—यो । तपाईंलाई १४ हजार ५०० रुपैयाँ पर्ने फोन चार हजार २०० रुपैयाँमा दिँदैछौं ।’
यससँगै जियोको एक सिम र ३२ जीबीको मेमोरी कार्ड पनि सित्तैमा पाइने उसले बतायो ।
फोन लिँदा क्यास इन डेलिभरीका रूपमा पैसा दिनुपर्ने पनि उसले बतायो ।
यी सबै कुरामा विश्वास गरेर शर्माले फोन मगाए ।
मंगलवार बेलुका पोस्टम्यान फोन लिएर शर्माको घरको ढोकामा आइपुग्यो । शर्मालाई पार्सल दिएर ४२ सय रुपैयाँ लिएर पोस्टम्यान गयो ।
शर्माले दंग पर्दै प्याकेट खोल्दा भित्र त लक्ष्मी र गणेशका सस्ता मूर्तिहरू पो रहेछन् ।
नक्कली पोस्टम्यानले शुरूमै प्याकेट खोल्न नदिएर पैसा लिएपछि हतार गरेर गएको थियो । प्याकेट खोल्दा पो शर्माको होशहवास गुम्यो ।
झारखण्डमा यस्ता अनलाइन फ्रडका अन्य घटना पनि प्रकाशमा आएका छन् ।
दैनिक भास्कर