०३ असार २०८३, बुधबार

रुपन्देहीकी अमृताको शंकास्पद मृत्युः हत्या की आत्महत्या ?

बैशाख १, २०७९
रुपन्देहीकी अमृताको शंकास्पद मृत्युः हत्या की आत्महत्या ?

रुपन्देहीको तिलोत्तमाकी २९ वर्षीया युवतीको शंकास्पद मृत्यु भएको छ । 

तिलोत्तमा–२ जानकीनगरकी अमृता टण्डन खत्रीको आफ्नै घरमा मृत्यु भएको हो । 

बुधवार राति जानकीनगरमै माइतीघरमा रहेकी अमृतालाई पति प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएका थिए ।

घर गएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ । 

अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक, अस्पताल पुर्‍याएको माइती पक्षको आरोप लगाएको छ । 

अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको मृतककी आमा सावित्रा खत्रीले बताइन् । 

‘राति साँढे ८ बजेसम्म छोरी माइतमै थिई । ज्वाइँले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि छोरी घर गएकी हो,’ सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ । दश नबज्दै मृत्यु भएको खबर आयो ।’

छोरीलाई घरमा सासु, ससुरा, पतिले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको सावित्राले बताइन् । माइती पक्षले अहिले अमृताको घरमा हत्या गरिएको भन्दै प्रदर्शन र नाराबाजी गरेका छन् । 

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

विष सेवन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर, त्यसो नभई योजनाबद्धरुपमा हत्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

मृतकका पति, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रवक्ता ठगबहादुर केसीले जानकारी दिए । 

केसीले अमृतका पति प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । केसीले शवको पोस्टमार्टमपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्