साउन २६, २०७९
अमेरिकाको फौजदारी अनुसन्धान संस्था एफबीआईले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको मार–ए–लागो नामक महलमा छापा मारेर खानतलासी गरेपछि अमेरिकामा गृहयुद्ध शब्द चर्चामा आएको छ । राष्ट्रपति कार्यकालको अन्...
काठमाडाैं | बैशाख ४, २०७९
संसारको ध्यान अहिले युक्रेनमा चलिरहेको रुसी सैन्य कारवाहीमा केन्द्रित भइरहेको बेलामा पश्चिमले ताइवानलाई चीनको विरुद्ध भड्काउने कोशिश गरिरहेको छ ।
त्यसै सन्दर्भमा अमेरिकाका डेमोक्रेटिक तथा रिपब्लिकन दुवै दलका सांसदहरूले बिहीवार (१४ अप्रिलमा) ताइवान भ्रमण गरेका छन् । रिपब्लिकन सिनेटर लिन्डसी ग्राहम, रिचर्ड बर, रोबर्ट पोर्टम्यान, बेन्जामिन सास्से, रोनी ज्याकसन र डेमोक्रेट सिनेटर बब मेनेन्डेजले ताइवानका राष्ट्रपति त्साई इङ–वनसँग भेटघाट गरेका हुन् । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पलोसी पनि ताइवान जान खोजेकी थिइन् तर कोभिड लागेपछि उनले भ्रमण रद्द गरिन् ।
उक्त भेटघाटमा युद्धपिपासु सिनेटर ग्राहमले राष्ट्रपति त्साईलाई युक्रेनमा रुसको आक्रमण तथा ताइवानका सन्दर्भमा चीनले देखाएको आक्रामकताका कारण यी दुई आक्रान्ता देशका विषयमा अमेरिकाको समान धारणा बनेको बताए । चीन र रुस दुवै खराब मानिसहरूले चलाइरहेको र उनीहरूलाई रोक्नु लोकतन्त्रवादीहरूको धर्म भएको पनि ग्राहमले बताए ।
अझ सिनेटर मेनेन्डेजले एक कदम अघि बढेर ताइवान एक ‘महत्त्वपूर्ण देश’ भएको बताए । अमेरिका आफैंले ताइवानलाई देशको मान्यता नदिएको सन्दर्भमा सिनेटर मेनेन्डेजको यो अभिव्यक्ति आपत्तिजनक थियो ।
यस भ्रमण र भ्रमणका क्रममा दिइएका बयानले चीनलाई स्वाभाविक रूपमा आक्रोशित बनाएको छ । ताइवानलाई आफ्नै अखण्ड भूभाग मान्ने चीनले त्यसलाई छुट्टै देश भनिएपछि आक्रोश व्यक्त गरेको हो । चीनको रक्षा मन्त्रालयले अमेरिकी सांसदहरूको भ्रमण जानाजान उत्तेजना फैलाउनका लागि गरिएको र यसले ताइवान जलसन्धिमा थप तनाव चर्काउने बताएको छ ।
अमेरिकी सांसदहरूको भ्रमणविरुद्ध प्रतिक्रिया जनाउँदै चीनले ताइवान नजिकको जलक्षेत्रमा सैन्य अभ्यास पनि थालेको छ । चिनियाँ जनमुक्ति सेनाले पूर्वी चीन सागरमा फ्रिगेट जंगी जहाज, बमवर्षक विमान र लडाकू विमानहरू शुक्रवार (१५ अप्रिलमा) पठाएको छ ।
अनि ताइवान नजिक उसले जलसेना र वायुसेनाको संयुक्त अभ्यासहरू पनि गरेको छ । अमेरिकी सरकारले दिएको गलत संकेतलाई प्रतिकार गर्नका लागि यो अभ्यास गरिएको चीन सरकारको भनाइ छ ।
यसैबीच चीनको आक्रामकता बढेको भन्दै ताइवान सेनाले पनि सैन्य अभ्यास गरिरहेको छ । ताइवानको रक्षा मन्त्रालयका प्रवक्ता सुन ली–फाङले चिनियाँ आक्रमण भएको खण्डमा कसरी ताइवानी सेनाले प्रतिकार गर्नेछ भनी अभ्यास (सिमुलेसन) गरिएको जानकारी दिए ।
अभ्यासका क्रममा ताइवानले अमेरिकामा बनेको एफ–१६ लडाकू विमान र एएच–६४ अपाचे असल्ट हेलिकप्टरहरू समेत उपयोग गरेको खबर ताइवानी सञ्चारमाध्यमहरूले दिएका छन् । चीनको आपत्तिका बावजूद ताइवानले अमेरिकासँग हतियार किन्नका लागि अर्बौं डलर खर्च गरिरहेको छ ।
त्यसो त अमेरिकाले ताइवानलाई अहिलेसम्म प्रतिरक्षात्मक हतियार मात्र बेचिरहेको छ । तर ताइवानी सेनाले आक्रामक हतियार प्रणाली विकसित गर्दै ठ्याक्कै निशानामा प्रहार गर्ने (प्रिसिजन स्ट्राइक) हतियार र पानीमुनि विस्फोट गर्ने बारुद बनाएको छ ।
ताइवानलाई बलप्रयोग गरेर भए पनि मुख्यभूमिमा मिसाउने चीनको आकांक्षा छ । सन् २००५ मा चीनले पृथक्तावादनिरोधी कानून (एन्टी–सिसेसन ल) जारी गरेर ताइवानले स्वतन्त्रताको घोषणा गरेमा सैन्य कारवाही समेत चलाउन सक्ने व्यवस्था गरेको थियो ।
त्यसैले ताइवानमा पृथक्तावादी सोच हुर्किन नपाओस् भनी चीनले ‘थ्री वारफेयर्स’ नीतिअन्तर्गत ताइवानविरुद्ध मनोवैज्ञानिक युद्ध, सार्वजनिक धारणा युद्ध तथा कानूनी युद्ध चलाइरहेको स्मलवार्स जर्नलमा च्यारिटी एस जेकब्स र क्याथलीन एम कार्ली लेख्छन् ।
तर ताइवानले आफू चीनमा मिसिन नचाहेको र लोकतान्त्रिक शासनपद्धति नत्याग्ने बताइरहेपछि विगत दुई वर्षदेखि चीनले ताइवानको पृथक्तावादी सोचलाई दबाबमार्फत निवारण गर्नका लागि सैन्य गतिविधि बढाएको छ । त्यसक्रममा ताइवानको जलक्षेत्र नजिक सैन्य अभ्यास गर्ने अनि ताइवानको वायु सुरक्षा क्षेत्र (एयर डिफेन्स आइडेन्टिफिकेसन जोन–एडीआईजेड) मा लडाकू विमानहरू पठाउने काम चीनले गरिरहेको छ । चीनले ताइवानको वायुक्षेत्रमा नभई एडीआईजेडमा दिनहुँ जसो विमान पठाउने गरेको हो ।
चीनले कुनै पनि बेलामा आफूविरुद्ध युद्ध शुरू गर्न सक्ने भन्दै ताइवानले युद्धमा ज्यान जोगाउनका लागि सर्वसाधारणले कस्तो उपाय अपनाउनुपर्छ भन्ने विवरण सहितको एक हातेपुस्तिका समेत हालै प्रकाशित गरेको छ । उक्त पुस्तिकामा कसरी स्मार्टफोन यापमार्फत बम शेल्टरहरू खोज्ने, खाद्यान्न र पानी कसरी पत्ता लगाउने अनि आकस्मिक अवस्थाका लागि प्राथमिक उपचार सामग्री कसरी तयार पार्ने ती सबैको विवरण उपलब्ध गराइएको छ ।
कमिक बूक र चित्रहरू उपयोग गरी कसरी हवाई आक्रमण हुन लाग्दा बज्ने साइरनलाई चिन्ने अनि कसरी क्षेप्यास्त्रहरूबाट जोगिनेसम्मको निर्देशन त्यसमा दिइएको छ । यसरी युद्धमा बाँच्नका लागि सहयोग गर्ने हातेपुस्तिका बनाएसँगै ताइवानले चीनबाट हुने सम्भावित आक्रमणको जोखिम स्तर (अलर्ट लेभल) हालैको समयमा उच्च बनाएको छ ।
उता चीनले पनि ताइवानमाथि दबाब बढाउनका लागि नयाँ लडाकू विमानहरू तयार पारिरहेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेना ब्रिगेडले जे–१६ लडाकू विमानहरूको ताजा जत्था लिएको खबर चीनको सरकारी टेलिभिजन च्यानल सीसीटीभीले दिएको छ ।
यो विमान चिनियाँ सेनाले ताइवान नजिक गर्ने गश्ती र अभ्यासमा बाक्लै प्रयोग गरिने गरेको छ । चिनियाँ वायुसेनाले उपयोग गर्दै आएको जे–७ र जे–८ लडाकू विमानलाई क्रमशः विस्थापित गर्दै यस अत्याधुनिक विमानले सेनाको क्षमतालाई थप बढाउने चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ । यी अत्याधुनिक विमानहरू अमेरिकी लडाकू विमानकै जस्तो स्तरको भएको एसिया टाइम्समा गेब्रिएल होनराडाले लेखेका छन् ।
यसरी चीन र ताइवान दुवैले युद्धको तयारीलाई बढाइरहेको देखिन्छ । चीनको आक्रमण तथा ताइवानको प्रतिकार दुवै स्थितिमा युद्ध लामै समयसम्म जान सक्ने देखिन्छ । तर ताइवानले ‘पोर्कुपाइन स्ट्राटेजी’ अपनाएर चीनलाई आक्रमणबाट विमुख बनाउन खोजेको सैन्य विश्लेषकहरू बताउँछन् ।
अमेरिकाले ताइवानलाई चिनियाँ आक्रमणको प्रतिकारका लागि पूरा सहयोग गर्ने अमेरिकी सांसद ग्राहमले बताएका छन् । चीनलाई यस आक्रमणको भारी मूल्य चुकाउन बाध्य बनाउने उनको दाबी छ ।
अर्थात्, अमेरिकाले युक्रेनलाई जस्तै गरी ताइवानलाई हातहतियार आपूर्ति गर्नेछ । तर आफ्ना सैनिकहरू चाहिँ उसले पठाउने छैन ।
युक्रेनमा जस्तै गरी ताइवानमा पनि अमेरिकी सैनिकहरूले स्थानीय सैनिकलाई गोप्य रूपमा प्रशिक्षण दिँदै आएका छन् । अमेरिकी विशेष बलका २५ सैनिक तथा संख्या नखुलाइएका मरिनहरूले ताइवानी सैनिकहरूलाई प्रशिक्षण दिइरहेको भनी गत अक्टोबर महिनामा द वाल स्ट्रीट जर्नलले खबर दिएको थियो । अनि ताइवानी सैनिकहरूलाई अमेरिकाले ग्वाममा समेत तालिम दिएको खबर पनि सार्वजनिक भएको छ ।
अर्थात्, युक्रेनलाई रुससँगको युद्धका लागि तयार पारेजस्तै ताइवानलाई चीनविरुद्धको युद्धका लागि अमेरिकाले तयार पारिरहेको छ ।
सन् १९७९ मा ताइवानसँग नभई चीनसँग सैन्य र कूटनीतिक सम्बन्ध कायम गरेको अमेरिकाले सन् २०१७ मा नेसनल डिफेन्स अथोराइजेसन याक्टमा हस्ताक्षर गरेर वाशिङटन र ताईपेईबीच सैन्य आदानप्रदानको ढोका खोलेको थियो । त्यसपछि ताइवानलाई अमेरिकाले बाक्लै सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।
यसरी सैन्य सहयोग दिइरहेको भए पनि ताइवानका विषयमा अमेरिकाले रणनीतिक दुविधा (स्ट्राटेजिक एम्बिग्विटी) कायम राखेको छ ।
सन् १९७९ मा अमेरिकाले जारी गरेको ताइवान रिलेसन्स याक्टमा ताइवानलाई आत्मरक्षाका लागि पर्याप्त क्षमता उपलब्ध गराउने उल्लेख छ । तर ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले उसको प्रतिरक्षा गर्ने भनी स्पष्ट बताएको छैन । अर्थात्, ताइवानलाई सहायता गर्ने तर प्रतिरक्षा नगर्ने द्विअर्थी कुरा अमेरिकाले गरिरहेको छ ।
ताइवान र उसका समर्थकहरू अमेरिकाले यस्तो दुविधा त्याग्दै खुलेर ताइवानको प्रतिकार गर्नुपर्ने बताइरहेका छन् । अमेरिकाका प्रमुख सञ्चारमाध्यममा रणनीतिक दुविधा त्याग्नका लागि बाइडन प्रशासनलाई सुझाव दिइएका आलेखहरूको बाढी आएको छ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले पनि प्रोजेक्ट सिन्डिकेटमा एउटा लेख प्रकाशित गरी अमेरिकालाई ताइवानको प्रतिरक्षाका लागि रणनीतिक दुविधा त्याग्न र हिन्द प्रशान्त क्षेत्रको अस्थिरता रोक्न आह्वान गरेका छन् ।
युक्रेन सार्वभौम राज्य र अमेरिकाको प्रमुख गैरनेटो साझेदार (मेजर नन नेटो अलाई) भए पनि अमेरिकाले उसको प्रतिरक्षाका लागि आफ्ना सैनिकहरू नपठाएको सन्दर्भलाई विचार गर्दा ताइवानका लागि अमेरिकाले रणनीतिक दुविधा त्यागिहाल्ने आकलन गर्न गाह्रो देखिन्छ । आखिर ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता अमेरिकाले दिएको छैन र आफ्नो साझेदार पनि मानेको छैन ।
आफैं ताइवानको प्रतिरक्षामा नहोमिए पनि चिनियाँ आक्रमणलाई छिट्टै सफल हुन नदिनका लागि अमेरिकाले विभिन्न उपाय अपनाउन सक्ने सैन्य विश्लेषकहरू बताउँछन् ।
अलजजीराका रक्षा विश्लेषक एलेक्स गाटोपुलोसका अनुसार, ताईपेईको एक पहाडमुनि बनाइएको हङ शान मिलिटरी कमान्ड सेन्टरमा हजारौं सैनिक लुकेर युद्ध गर्न सक्छन् ।
त्यस भूमिगत संरचनाले हवाईमा रहेको अमेरिकी हिन्द प्रशान्त कमान्डसँग सिधै सम्पर्क कायम गरेको छ । ताइवानीहरूले हवाईबाट भूउपग्रह तथा अन्य माध्यमबाट महत्त्वपूर्ण सूचना पाउने हुनाले चीनलाई ताइवानमाथि एकाएक आक्रमण (सरप्राइज अट्याक) गर्न गाह्रो हुनेछ ।
जे होस्, ताइवानका विषयमा रणनीतिक दुविधा कायम राखे पनि अमेरिकाले क्रमशः ताइवानलाई चीनसँग भिडाउनका लागि गतिविधि बढाइरहेको हालैका घटनाक्रमहरूले देखाएका छन् ।
सन् २०२२ मा सार्वजनिक गरिएको नेसनल डिफेन्स अथोराइजेसन याक्टमा ताइवानसँगको सैन्य सम्बन्ध बढाउने बकाइदा उल्लेख छ । यसरी बाइडन प्रशासनले ताइवानलाई अमेरिकाको वस्तुगत सैन्य साझेदार बनाउन खोजेको देखिन्छ । चीनले ताइवानका विषयमा कोरेको लक्ष्मणरेखालाई अमेरिकाले नाघ्ने छेकछन्द यसबाट पाइन्छ ।
युक्रेनमार्फत रुसविरुद्धको मोर्चा खोलेको अमेरिका ताइवानमार्फत चीनविरुद्धको मोर्चा खोल्नका लागि पनि भरपूर तयारी गरिरहेको देखिन्छ ।
अमेरिकाको फौजदारी अनुसन्धान संस्था एफबीआईले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको मार–ए–लागो नामक महलमा छापा मारेर खानतलासी गरेपछि अमेरिकामा गृहयुद्ध शब्द चर्चामा आएको छ । राष्ट्रपति कार्यकालको अन्...
दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ । सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...
प्रतिनिधिसभा चुनावको मिति घोषणा भएपछि सरकारका मन्त्रीहरूको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ । जागिर धान्न सिंहदरबार गएपनि मन्त्रीहरू बिहान बेलुका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् ...
नेपालको संसदीय इतिहासमा विजयकुमार गच्छदारको नाम र बदनाम दुवै छ । २०४८ सालपछिका सबै चुनावमा अविजित रहेका गच्छदार नेपालमा सबैभन्दा धेरै मन्त्री बन्ने नेता हुन् । ३० वर्षको अवधिमा गच्छदार पाँचपटक उपप्र...
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल बनेको १ वर्ष पनि नबित्दै नेकपा एकीकृत समाजवादीभित्र गुट उपगुटको छिनाझप्टी उत्कर्षमा पुगेको छ । एमालेभन्दा ठूलो दल हुने भनेर गत वर्षको भदौ ९ गते निर्वाचन आयोगबाट ए...
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...