
आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ ।
जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रूपमा लिई काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखीकरण कक्षामा सहभागी गराएको हो ।
जहाजभित्र जबर्जस्ती लाइभ गरेको, नेपाल बार एशोसिएशनको बैठकमा समेत अनुमतिविना पसी लाइभ गरेको विषयमा काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रवार कक्षामा राख्ने र आइन्दा उल्लंघन नगर्न सचेत गराउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई पालना गर्दै धमला शुक्रवार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए ।
काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनकर्तालाई आवश्यकताअनुसार अभिमुखीकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो ।
यस्तो खालको कक्षामा सहभागी हुने धमला पहिलो पत्रकार हुन् ।
तर, नयाँ अनलाइनका सञ्चालक, सम्पादक र सञ्चारकर्मीलाई पनि आचारसंहिता कक्षा काउन्सिलले अनिवार्य गरेको छ ।
यही चैत १ गतेदेखि काउन्सिलले अनलाइन दर्ता गर्नुपूर्व सञ्चालक, पत्रकारहरूले अनिवार्य रूपमा आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको हो ।
त्यस्तो कक्षा लिएपछि मात्र काउन्सिलले अनलाइन सूचीकरण गर्न थालेको छ ।
शुक्रवारको कक्षामा धमलासँगै यस्ता सूचीकरण प्रक्रियामा रहेका सञ्चालक र पत्रकारहरूसमेत थिए ।
काउन्सिलले कक्षाका लागि विज्ञका रूपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई बोलाएको थियो ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र महासंघका अध्यक्ष विपुल पोखरेलले समेत आचारसंहिताका विषयमा संक्षिप्त बोलेका थिए ।
त्यसक्रममा पत्रकार धमलाले प्रेस काउन्सिलको सक्रियता र नयाँ थालनीको प्रशंसा गरेका थिए ।