२२ असार २०८३, सोमबार

चुडीमा पहिलो पटक बल्यो बिजुली

बैशाख ११, २०७९
चुडीमा पहिलो पटक बल्यो बिजुली

डडेल्धुराको भागेश्वर गाउँपालिका–१ चुडी गाउँमा पहिलो पटक बिजुली बलेको छ ।

लघु जलविद्युत् आयोजना निर्माण गरेपछि गाउँमा बिजुली बलेको हो ।

चुडी गाउँमा करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमागाड लघु जलविद्युत् योजना पूरा भएको निर्माण समितिले जनाएको छ ।

२८  घरघुरी  रहेको  चुडीका  सबै  घर,  एउटा  प्राथमिक  विद्यालय  र  सामुदायिक  भवनमा अहिले बिजुली बलेको छ ।

बिजुली बलेसँगै स्थानीय अँध्यारोबाट मुक्त भएका छन् ।

चुडी गाउँवासीले यसअघि भने टुकी, झरो र स–साना सोलारबाट घर उज्यालो बनाउँथे । सो  आयोजनाको  बिजुली  उत्पादन  क्षमता साढे नौ किलोवाट रहेको छ तर गाउँमा अहिले  करिब  एक  किलोवाट  विद्युत्  मात्रै  खपत हुनसकेको छ ।

बिजुली बलेसँगै गाउँमा मिल  पनि  सञ्चालन  गरिएको  छ  ।  विद्युत्  गृहको एक कोठामा कुटानी, पिसानी र पेलानी मिल जडान गरेर सञ्चालन गरिएको छ । नेपाल–भारतको     सीमा     नदी     महाकाली  नदी  तटीय  क्षेत्रमा  पर्ने  दुर्गम  चुडी  गाउँमा  बिजुलीसँगै  मिल  सञ्चालन  आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका छन् ।

मिल नहुँदा चुडी गाउँवासी ढिकी ओखलमा धान कुट्न बाध्य थिए भने गहुँ पिस्नका लागि पाँच/छ घण्टा पैदल हिँडेर भागेश्वर–२ को रुपाल र परशुराम नगरपालिका–३ को शीर्ष पुग्नुपर्ने बाध्यता थियो ।

मिल सञ्चालनमा आएसँगै गाउँमै कुटानी, पिसानी र पेलानी गर्न पाउने भन्दै स्थानीय कलवतीदेवी ठकुराठीले खुसी व्यक्त गरे । उल्यालोमा पढ्न पाउने भन्दै बालबालिका समेत खुसी देखिएका छन् । गोरखापत्र दैनिकमा पुस्कर भण्डारीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्