
पर्वतमा स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने भएको छ ।
आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।
आचारसंहिता अनुगमन समिति पर्वतको बैठकले आचारसंहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ । दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमवारदेखि नै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए ।
‘उल्लंघनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन्,’ उनले भने, ‘उल्लंघन हुन नदिन कारवाही गर्ने निर्णय गरेका छौं ।’
पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारीसाधनमा चर्को स्वरमा प्रचार सामग्री बजाउने, ठूलाठूला बोर्डहरू राख्ने तथा सवारीसाधनमा समेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्मा बजारमा उम्मेदवारले धेरै सवारीसाधनमा प्रचार सामग्री बजाउँदा ध्वनी प्रदूषण र जनजीवन समेत प्रभावित भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लंघनका काम नगर्न भन्दै आइतवार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरूमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथोकीले बताए ।
आचारसंहिता विपरीत प्रयोग भएका सामग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिए ।