३० जेठ २०८३, शनिबार

प्रदेश १ मा खुम्चियो एमालेको साख, कांग्रेसभन्दा निकै पछि पर्ने पक्का

प्रदेश १ मा खुम्चियो एमालेको साख, कांग्रेसभन्दा निकै पछि पर्ने पक्का

अघिल्लो चुनावमा प्रदेश १ मा सबैभन्दा बढी ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले १०५ पालिकाको मतगणना सकिँदासम्म दोस्रो स्थानमा छ । 

१३७ स्थानीय तहमध्ये बिहीवार दिउँसोसम्म १०५ तहको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म कांग्रेस ५३ पालिकामा नेतृत्व लिइसकेको छ । एमालेले अहिलेसम्म ३४ स्थानीय तहमा मात्रै जित हासिल गरेको छ । 

२०७४ को चुनावमा सबैभन्दा बढी जितेर प्रदेश १ मा पहिलो भएको एमालेले दोस्रो स्थानमा चित बुझाउनुपर्ने देखिन्छ । 

एमालेले प्रदेश १ मा विभाजनको असर नदेखिएको दाबी गरे पनि अधिकांश पालिकामा विभाजनको असर परेको छ । 

पछिल्लो नतिजाअनुसार कांग्रेस ५३ स्थानीय तह प्रमुख र अध्यक्ष र ३५ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेको छ । 

२०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा मात्रै जित हासिल गरेको थियो । एमालेले हालसम्म ३४ वटा प्रमुख र अध्यक्ष र ४१ उपप्रमुख र उपाध्यक्ष पद जितेको छ । 

गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रलाई पनि फाइदा पुगेको छ । गत चुनावमा प्रदेश १ का ९ स्थानीय तह जितेको माओवादी केन्द्रले प्रमुख / अध्यक्षमा १२ र उपप्रमुख/उपाध्यक्ष २० ठाउँमा जितेको छ । 

अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितिसकेको छ । 

अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म एक तहको प्रमुख र २ उपप्रमुख जितेको छ । 

अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितिसकेको छ । 

प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीले १ प्रमुख/अध्यक्ष र ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।

अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । 

इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन बाँकी छ । यी पालिकामा मोरङबाहेक गठबन्धनकै उम्मेदवार अगाडि छन् । प्रदेश १ लाई एमालेका लागि उर्वर मानिँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्