
बन्द रहेका सार्वजनिक संस्थानहरू सरकारले आगामी आर्थिक वर्षमा सञ्चालनको लागि आवश्यक वातावरण बनाउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो, वीरगञ्ज चिनी कारखाना, हेटौडा कपडा उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने बताए ।
यी सबै संस्थानहरू लामो समयदेखि बन्द अवस्थामा छन् ।
त्यसैगरी, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडाको पोसाक लगाउने व्यवस्था मिलाइने उनले बताए ।
कृषि, खाद्यान्न, दुग्ध, औषधीजन्य, यातायात जस्ता क्षेत्रमा सञ्चालित सार्वजनिक संस्थानलाई पुनर्संरचना गरी संघ, प्रदेश र स्थानीय तहको स्वामित्व स्थापित गरी सञ्चालन गर्ने व्यवस्था गर्ने अर्थमन्त्री शर्माले बताए ।