०२ साउन २०८३, शनिबार
बजेट

बजेटबारे निजी क्षेत्रको प्रतिक्रियाः बजेट सकारात्मक छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ

बजेटबारे निजी क्षेत्रको प्रतिक्रियाः बजेट सकारात्मक छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ

सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले उठाउँदै आएको विषय बजेटमा समेटिएको बताए ।  ‘उद्योग क्षेत्रको समस्यालाई मसिनो गरी अर्थमन्त्रीले समेटेका छन् । निर्यात बढाउने कुरा सकारात्मक छ,’ गोल्छाले भने । 

विदेशीलाई नेपालमा अपार्टमेन्ट किन्न दिने व्यवस्था सम्बोधन भएकोमा गोल्छाले सन्तुष्टि व्यक्त गरे । बजेटले १०० युनिटका अपार्टमेन्टमा २० प्रतिशत युनिट विदेशीलाई विदेशी मुद्रामा नै बिक्री गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने उल्लेख छ ।

त्यसै गरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्रले दिएको सुझाव बजेटमा समेटिएको बताए ।  ‘करको दायरा बढाउने कुरा उल्लेख भएको छ । कर राजश्व क्षेत्रमा राम्रो सुधारको संकेत बजेटमा उल्लेख भएको छ,’ मल्लले भने । 

बजेटको आकार ठूलो भएको तर, बीचमा घटाउन नहुने उनले बताए । बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने मल्लको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले पनि बजेटमा निजी क्षेत्रले उठाएको कुरा समेटिएको बताइन् । ‘जग्गाको हदबन्दीको कुरा सम्बोधन भएको छ । विदेशीले पनि अपार्टमेन्ट किन्न पाउने राम्रो व्यवस्था हो । फलाम, डण्डी, फुटवेयरको निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने व्यवस्था राम्रो छ,’ राणाले भनिन् ।  

त्यसै गरी, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कुरा राम्रो भएको, कोभिडमा अप्ठ्यारोमा परेका उद्योग र सेवा क्षेत्रलाई सहुलियत दिने कुरा नदेखिएको उनले बताइन् । 

अहिलेको बजेटलाई लागू गर्दा अर्थतन्त्र सुधारमा योगदान पुग्ने राणाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्