
गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । चितवनको कुरिनटारस्थित आज सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् ।
उनले पोखरादेखि मुग्लिन र नारायणगढदेखि मुग्लिन हुँदै काठमाडौँ जाने सडकको सहज व्यवस्थापनका लागि सबै जिल्लाका सिडियोहरूले समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले आवश्यक उपकरण, जनशक्ति र बजेको व्यवस्था गर्न जिल्ला प्रमुखलाई निर्देशन दिए ।
मन्त्री खाणले सडक निर्माण गर्दै दीर्घकालीन रुपमा सोचेर काम नगर्दा समस्या आउने गरेको बताए। “मुग्लिन–नारायणगढ सडकखण्डमा नदीको दुवैतर्फ सडक निर्माण गर्नुपर्छ । जसले गर्दा पहाड कम कटान हुने र क्षति पनि कम हुन्छ । थोरै पहाड काटेर पनि सडक निर्माण गर्न सकिने उपाय हुँदाहुँदै अस्तव्यस्त तरिकाले काम गर्न हुँदैन”, उनले भने ।
हरेक आयोजनालाई अगाडि बढाउँदा त्यसले प्राकृतिक विपत्तिलाई कतिको सामना गर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।